स्पेनिस ला लिगाअन्तर्गत सोमबार राति भएको खेलमा रियल बेटिसले भिल्लारियललाई २–१ ले पराजित गरेको छ। भिल्लारियलको घरेलु मैदानमा भएको खेलमा बेटिसले उत्कृष्ट पुनरागमन गर्दै तीन अंक जोडेको हो।
बेटिसको जितसँगै पाँचौँ चरणको खेल सकिएपछि अब ला लिगाको छैटौँ चरण सुरु भएको छ। आज मंगलबार तीन खेल हुँदैछन्, जसमा रियल मड्रिडको खेल मुख्य आकर्षणका रूपमा रहेको छ।
आज पहिलो खेलमा रायो भाल्लेकानोले स्पान्योलसँग प्रतिस्पर्धा गर्नेछ। नेपाली समयअनुसार खेल राति १०ः४५ बजे सुरु हुनेछ।
त्यसपछि राति ११ः४५ बजे अलाभेस र भ्यालेन्सियाबीच खेल हुनेछ। सिजनको सुरुआतमा संघर्ष गरिरहेको भ्यालेन्सियाका लागि यो खेल महत्वपूर्ण हुनेछ।
आजको सबैभन्दा चर्चित खेलमा रियल मड्रिडले एल्चेको सामना गर्नेछ। एल्चेको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार बुधबार बिहान १ः१५ बजे सुरु हुनेछ। रियल मड्रिड पछिल्लो खेलमा रायो भाल्लेकानोलाई ४-१ ले हराएर आत्मविश्वासका साथ मैदान उत्रिँदैछ।
रियलका लागि किलियन एम्बाप्पेले पछिल्लो खेलमा दुई गोल गरेका थिए। उनीसहित भिनिसियस जुनियर, जुड बेलिङ्घमलगायत खेलाडीबाट आज पनि उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ। एल्चे भने सिजनको पहिलो जितको खोजीमा हुनेछ।
पाँचौँ चरणपछि बार्सिलोना शतप्रतिशत जितसहित शीर्ष स्थानमा छ भने रियल मड्रिड पनि उपाधि दौडमा बलियो अवस्थामा छ। छैटौँ चरणका खेलसँगै शीर्ष स्थानको प्रतिस्पर्धा अझ रोचक बन्ने देखिएको छ।
प्रकाशित: ३० भाद्र २०८३ ०७:१४ मंगलबार



