खेल

अविनासको सानदार गोलमा सूर्यपुर चितवन गोल्डकपको फाइनलमा

अविनास स्याङताङ्गको सानदार गोलमा एप्पल गुरु सूर्यपुर एफसी कालिका हानामी तेस्रो चितवन गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।  

आज (बिहीबार) सम्पन्न दोस्रो सेमिफाइनलमा एनपेनाङ एफसी मलेसियालाई हराउँदै सूर्यपुर उपाधि नजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुरलाई जिताउन अविनास स्याङताङ्गले निर्णायक गोल गरे ।  

खेलको ७८ औं मिनेटमा अविनासको लङरेन्जर प्रहारले जाली चुम्यो । अतिरिक्त समयमा सूर्यपुरका सिर्जन क्षेत्रीले फागुराम थारुलाई डिबक्स भित्र लडाएपछि एनपेनाङले पेनाल्टी पाएको थियो । तर सनिश श्रेष्ठको पेनाल्टी सूर्यपुरका विशाल सुनारले रोके । निर्णायक गोल गरेका सूर्यपुरका अविनास केल्मी प्लेयर अफ दि म्याच भए । यससँगै सूर्यपुरले उपाधिका लागि भरतपुर फुटबल बिएफसीको सामना गर्नेछ । बिएफसी यसअघि पहिलो सेमिफाइनलमा देवदह ब्वाईज रुपन्देहीलाई हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ ।  

फाईनल खेल असोज ३ गते शनिबार हुनेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित: १ आश्विन २०८३ २१:२१ बिहीबार