मंगोलियन खेलाडीको बलियो साथ पाएपछि अन्नपूर्ण स्पाइकर किङ्स उत्कृष्ट पुनरागमन जितसँगै नेपाल भलिबल लिग (एनभिएल) को पहिलो सिजनमा उपाधिनजिक पुगेको छ।
हारबाट सिजन सुरुआत गरे पनि अन्नपूर्ण स्पाइकरले विदेशी खेलाडीको साथ पाएपछि एनभिएलमा उत्कृष्ट पुनरागमन ग¥यो। लिगको अन्तिम खेलमा पनि त्यही शैलीमा जित रचेपछि खराब सुरुआतका बावजुद अन्नपूर्ण स्पाइकर उपाधिनजिक पुगेको हो।
फाइनलमा पुग्न जित्नैपर्ने खेलमा अन्नपूर्णले बिहीबार सगरमाथा स्म्यासर्समाथि ३–१ को सेटमा जित रच्यो। कुल ६ वटा फ्रेन्चाइज टोली सहभागी एनभिएलको लिगमा शीर्ष स्थानमा रहने टोली सीधै फाइनलमा पुग्ने प्रावधान थियो। यो जितसँगै लिगको शीर्ष स्थानमा रहँदै गण्डकीको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर फाइनलमा पुग्यो। पहिलो खेलमा अन्नपूर्ण कर्णाली शिवराजसँग ३–१ ले पराजित भएको थियो। हिमाल सुनारी मार्की खेलाडी रहेको अन्नपूर्णले त्यसयता लगातार चार खेलमा जित रच्यो।
यी सबै जितमा मंगोलियाका खेलाडी नै नायक रहे। आउट साइड हिटर उरनबायर मन्खबायर र इन्ख इर्डेने लगातार दुई खेलमा म्यान अफ दी म्याच भए। स्वदेशी खेलाडीबाट पनि राम्रो साथ पाएपछि अन्नपूर्ण स्पाइकर उपाधिका लागि एक जित टाढा छ। अब अन्नपूर्ण स्पाइकरले उपाधिका लागि भदौ २७ गते प्लेअफ (कर्णाली शिवराज र काठमाडौं रेड्सबिच) को विजेतासँग प्रतिस्पर्धा गर्नेछ। प्लेअफको खेल भने भदौ २६ गते हुने तय छ। अन्नपूर्णले दोस्रो खेलमा काठमाडौं रेड्सलाई ३–०, तेस्रोमा मधेस वारियर्सलाई ३–१ र खप्तड फाल्कन्सलाई ३–० ले हराएको थियो। लिगचरणको अन्तिम खेलमा पनि अन्नपूर्णले उत्कृष्ट पुनरागमन जित दर्ता ग¥यो। अन्नपूर्णले पाँच खेलबाट १२ अंक जोड्यो ।
यो नतिजापछि प्लेअफ पुग्ने दुई टोलीको पनि टुङ्गो लाग्यो। सिंगल राउन्ड रोबिनका आधारमा जारी एनभिएलको लिगचरणमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनलका लागि प्लेअफ खेल्ने प्रावधान थियो। जहाँ कर्णाली शिवराज र काठमाडौं रेड्सले लिगको अन्तिम खेलअघि नै दोस्रो र तेस्रो स्थान पक्का गरे। अन्तिम खेलमा पराजित सगरमाथा स्म्यासर्सको भने प्लेअफ सम्भावना समाप्त भयो। लिगको पाँच खेलबाट सगरमाथा ७ अंकसहित चौथो स्थानमा छ। पहिलो सेटमा जित निकाले पनि सगरमाथा स्म्यासर्सले सदुपयोग गर्न नसक्दा लिगबाट बाहिरिन बाध्य भयो।
पहिलो सेट अन्नपूर्णले २५–२१ ले गुमाउन पुग्यो। तर, त्यसपछि टोलीले उत्कृष्ट लय समात्यो। तीन मंगोलियन खेलाडीले चम्किएपछि अन्नपूर्ण स्पाइकरले लगातार तेस्रो सेट आफ्नो बनायो। अन्नपूर्णले दोस्रो सेट २५–२३ ले आफ्नो बनाउँदै पुनरागमनको संकेत ग¥यो। यसपछि पुनरामगन गरेको अन्नपूर्ण पूर्ण रूपमा हाबी भयो। तेस्रो सेटमा सुरुदेखि हाबी अन्नपूर्णको पक्षमा एकपक्षीय रह्यो। यो सेट २५–१४ ले सहजै आफ्नो बनाउँदै गण्डकी प्रदेशलाई प्रतिनिधित्व गर्ने अन्नपूर्णले सेटमा अग्रता बनायो। अन्नपूर्णले चौथो सेट पनि २५–२० ले आफ्नो पक्षमा पार्दै उत्कृष्ट पुनरागनम जित रच्यो।
अन्नपूर्णको जितमा इन्ख इर्डेने म्यान अफ दी म्याच भए। सगरमाथा लगातार तेस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि सगरमाथा कर्णालीसँग ३–२ तथा काठमाडौं रेड्ससँग ३–० ले पराजित भएको थियो। दुई खेल जितेको सगरमाथाले मधेसलाई ३–१ र खप्तडलाई ३–० ले हराएको थियो।
प्लेअफमा कर्णाली र काठमाडौं
लिगको अन्तिम खेलअघि प्लेअफमा पुगेका कर्णाली शिवराज र काठमाडौं रेड्सले जितसहित एकअर्काविरुद्ध उपाधि यात्रा प्रतिस्पर्धा गर्ने भएका छन्। बिहीबार भएको खेलमा कर्णालीले मधेसमाथि ३–१ र काठमाडौं रेड्सले खप्तड फाल्कोन्समाथि ३–२ को जित रचे। कर्णाली सिवराजले मधेसमाथि जित रच्दै दोस्रो स्थान पक्का गरेको हो। कर्णालीले मधेसलाई २५–२०, २५–२०, २१–२५ र २५–१९ ले हरायो। जितसँगै कर्णालीले लिगको दोस्रो स्थानमा रहेर काठमाडौंसँग प्लेअफ खेल्ने भएको छ।
कर्णालीको जितमा पहल गहतराज म्यान अफ दी म्याच भए। काठमाडौंले खप्तडमाथि ३–२ को सेटमा जित रचे पनि दोस्रो स्थानमा पुग्न सकेन। काठमाडौंले फाल्कोन्सलाई १९–२५, २५–१८,२०–२५, २५–१९ र १५–१३ को रोमाञ्चक सेटमा हरायो। यससँगै खप्तड यस सिजन जितविहीन एक मात्र टोलीका रूपमा बाहिरियो। सिजभर खप्तडले दुई सेट मात्र जित्यो। लिगमा पाँच खेलबाट कर्णाली ११ अंक र काठमाडौं १० अंक जोड्दै क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे। यससँगै लिगचरणका खेल पूरा भएको छ। केडिया ग्रुपद्वारा आयोजित एनभिएलको पहिलो सिजनमा कुल ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। लिगको विजेताले २० लाख प्राप्त गर्नेछ।
प्रकाशित: २६ भाद्र २०८३ ०८:१६ शुक्रबार