खेल

अफगानिस्तानले भारतमा दुई फर्म्याटकाे शृंखला खेल्ने

अफगानिस्तानले आगामी जुनमा भारत भ्रमण गर्दै उसको घरेलु मैदानमा एक टेस्ट र तीना एकदिवसीय शृंखला खेल्ने भएको छ।

आगामी जुन ६ तारिखबाट सुरु हुने टेस्ट खेल न्यु चण्डीगढमा हुनेछ भने तीनवटा एकदिवसीय खेलहरू क्रमशः जुन १४ तारिखमा धर्मशाला, जुन १७ तारिखमा लखनउ र जुन २० तारिखमा चेन्नईमा हुनेछन्। यी दुई टोलीबीच यो दोस्रो टेस्ट हो। पहिलो टेस्ट सन् २०१८ मा खेलिएको थियो।

उक्त टेस्ट शृंखलामा भारतले एक इनिङ र २६२ रनले जित निकालेको थियो। यो टेस्ट जारी विश्व टेस्ट च्याम्पियनसिप २०२५–२७ साइकलको हिस्सा हुने छैन। यस वर्ष जुन महिनामा हुने यो भारतको दोस्रो टेस्ट हो। यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) समापन भएको ६ दिनपछि यो शृंखला सुरु हुनेछ। आइपिएलको फाइनल मे ३१ तारिखमा हुने तय गरिएको छ। भारत र अफगानिस्तानबिच यो पहिलो द्विपक्षीय एकदिवसीय शृंखला हो।

अहिलेसम्म यी दुई टोली ५० ओभरमा एसिया कप र विश्व कपमा मात्र आमनेसामने भएका छन्। सबै फरम्याटमा गरेर यी टोलीले पछिल्लोपटक सन् २०२४ को आइसिसी टी ट्वान्टी विश्वकपको सुपर आठमा खेलेका थिए। जारी टी ट्वान्टी विश्वकपपछि भारतका लागि यो पहिलो शृंखला हुनेछ।

अफगानिस्तानले भने विश्वकप सकिएलगत्तै संयुक्त अरब इमिरेट्स (युएई) मा श्रीलंकाविरुद्ध समान तीनवटा टी ट्वान्टी आई र एकदिवसीय खेलको आयोजना गर्नेछ। अफगानिस्तानविरुद्धको शृंखलापछि भारत व्यस्त तालिकामा प्रवेश गर्नेछ । किनकि जुलाई १ देखि १९ सम्म इङ्ल्यान्ड भ्रमण गर्ने तालिका छ। यस क्रममा भारतले पाँचवटा टी ट्वान्टी आई र तीन एकदिवसीय खेल्ने तालिका पनि तय गरिएको छ।  

प्रकाशित: १९ फाल्गुन २०८२ १३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App