अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले माेरिससलाई एक शून्य गोलले पराजित गरेको छ। शनिबार सम्पन्न पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फरवार्ड बिमल घर्तीमगरको एक मात्र निर्णायक गोलमा नेपालले घरेलु मैदानमा माेरिससलाई १–० ले पराजित गरेको हो। प्रतिबन्ध र चोटबाट फर्किएर राष्ट्रिय टोलीमा पुनरागमन गरेको पहिलो खेलमै बिमलले गोल गर्न सफल भएका हुन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाप गोलरहित बराबरीमा टुङ्गिएको थियो। दोस्रो हाफको ५५औं मिनेटमा बिमलले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाए। बिमलले सन् २०१८ मा भएको साफ च्याम्पियनसिपपछि पहिलो गोल गरेका हुन्। यससँगै बिमलको गोलसंख्या ९ पुगेको छ।
नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेलेको हो। दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ।
प्रकाशित: १५ माघ २०७८ १३:१० शनिबार



