खेल

युथ लिगमा मनाङको दोस्रो जित

मनाङ मर्स्याङ्दी क्लबले एन्फा यु–१६ युथ लिगमा लगातार दोस्रो जित निकाल्दा हिमालयन शेर्पाले पहिलो सफलता पाएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा मनाङले सातदोबाटो युथ क्लबमाथि ६–० को जित निकाल्दा हिमालयन शेर्पाले श्री भगवतीलाई ३–१ ले हराएको हो। मनाङको यो दोस्रो जित हो भने शेर्पाले दोस्रो खेलमा पहिलो जित निकाल्यो। 

जितसँगै मनाङले दुई खेलबाट ६ अंक जोडेको छ। यता, सातदोबाटो युथ भने दोस्रो खेलमा पनि हारसँगै अंकविहिन छ। पहिलो खेलमा मनाङले श्रीभगवती क्लबलाई हराएको थियो। सातदोबाटोले भने प्लानिङ ब्वाइजसँग हार बेहोरेको थियो। मनाङको जितमा रोहन थापामगर, विवेक मगर, अर्जुन साउद, राम अर्जेल, सिमोन श्रेष्ठ र सोनम तामाङले समान एक गोल गरे। खेलको ३०औं मिनेटमा रोहनको गोलबाट मनाङले अग्रता लिएको हो।

४३औं मिनेटमा विवेकले गोल गर्दै मनाङको अग्रता दोब्बर बनाए। यससँगै पहिलो हाफमा मनाङ २–० ले अगाडि रह्यो। तर, दोस्रो हाफमा भने मनाङले चार गोल थप्यो। अर्जुनले ६६औं मिनेटमा मनाङका लागि तेस्रो गोल गरे। पाँच मिनेटपछि नै रामले गोल गरेपछि मनाङले अग्रता ४–० मा पुर्‍यायो। निर्धारित समय सकिन ६ मिनेट बाँकी छँदा सिमोनले पनि गोल गरे। इन्जुरी समयमा सबिन राईले दोहोरो पहेँलो कार्ड बेहोरे। यसपछि सातदोबाटो १० खेलाडीमा सीमित भयो। यसको फाइदा लिँदै सोनमले मनाङको छैटौं गोल गरे। यससँगै मनाङले सातदोबाटोलाई दोस्रो सामना गर्न बाध्य भयो।

दिनको दोस्रो खेलबाट हिमालयन शेर्पाले युथ लिगमा पहिलो जित निकाल्यो। एन्फा कम्प्लेक्समा नै भएको खेलमा शेर्पाले श्री भगवतीमाथि ३–१ को जित निकालेको हो। जितसँगै हिमालयन शेर्पाले दुई खेलबाट तीन अंक जोड्यो। श्री भगवतीको भने यो दोस्रो हार हो। पहिलो खेलमा हिमालयन शेर्पाले त्रिभुवन आर्मीसँग र श्री भगवतीले मनाङसँग हार बेहोरेका थिए। हिमालयन शेर्पाको जितमा कप्तान प्रदीप खत्री, विष्णु सुनुवार र जेनिल सुब्बाले गोल गरे। श्री भगवतीका अनिल गुरुङले गोल फर्काए। हिमालयन शेर्पाले खेलको ३०औं मिनेटमा प्रदीपको गोलबाट अग्रता लिएको हो। १० मिनेटपछि नै विष्णुले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।

यससँगै पहिलो हाफमा हिमालयन शेर्पा २–० ले अगाडि रह्यो। दोस्रो हाफमा दुवै तर्फबाट गोल भयो। तर पनि शेर्पाले जित आफ्नो बनायो। जेनिलले ६२औं मिनेटमा गोल गर्दै हिमालयन शेर्पालाई ३–० ले अगाडि बढाए। निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा श्री भगवतीले गोल फर्कायो। तर, त्यो पर्याप्त भएन। अनिल गुरुङले गरेको गोल श्री भगवतीका लागि सान्त्वना बन्यो।

मन्दीपको पाँच गोल 
मन्दीप ढुंगेलको उत्कृष्ट प्रदर्शन प्रेरणामा फ्रेन्ड्स क्लबले जारी एन्फा यु–१६ युथ लिगमा उत्कृष्ट जित निकालेको छ। एन्फा कम्प्लेक्समा नै सोमबार भएको पहिलो खेलमा फ्रेन्ड्सले चर्च ब्वाइजविरुद्ध ७–० को सानदार जित निकालेको हो। फ्रेन्ड्सको जितमा मन्दीपले ह्याट्रिकसहित पाँच गोल गरे। सुनिल केसी र ऋषभ पुनको नाममा समान एक गोल रह्यो। खेलको पहिलो मिनेटमा सुनिलको गोलबाट फ्रेन्ड्सले अग्रता लिएको थियो। 

तर, मन्दीपले पहिलो हाफमा नै ह्याट्रिक पूरा गरेपछि फ्रेन्ड्स उत्कृष्ट जिततर्फ अग्रसर भयो। उनले १६औं, २७औं र २८औं मिनेटमा गोल गरेका हुन्। यससँगै फ्रेन्ड्सले पहिलो हाफमै ४–० को फराकिलो अग्रता बनायो। दोस्रो हाफमा पनि फ्रेन्ड्सको आक्रमण रोकिएन। यसमा मन्दीपले नै गोल गरे। उनले ५८औं र ८७औं मिनेटमा गोल थपे। ऋषभले इन्जुरी समयमा फ्रेन्ड्सका गोल गरे। यससँगै फ्रेन्ड्सले चर्च ब्वाइजमाथि ७–० को रबाफिलो जित निकाल्यो। 

प्रकाशित: २४ असार २०८२ ०८:४५ मंगलबार

#NagarikNews #NepaliNews