रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) का पूर्व मालिक विजय माल्याले टोलीको जितमा प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा टोलीलाई बधाई दिँदै भनेका छन्, ‘मेरो सपना साकार पार्नेहरूलाई धन्यवाद।’
माल्याले लेखेका छन्, ‘जब मैले आरसीबी स्थापना गरें, मेरो सपना थियो कि आईपीएल ट्रफी बैंगलोरमा आओस्।’ उनले भने, ‘मलाई युवा खेलाडीको रूपमा विराट कोहलीलाई छनोट गर्नु सौभाग्य लाग्यो र यो प्रशंसनीय छ कि उनी १८ वर्षदेखि आरसीबीमा छन्।’
उनले थपे, ‘मलाई टोलीमा युनिभर्स बोस क्रिस गेल र मिस्टर ३६० एबी डिभिलियर्सलाई समावेश गर्ने अवसर प्राप्त भयो, जो सधैं आरसीबीको इतिहासको अविस्मरणीय हिस्सा रहनेछन्।’
माल्याले भने, ‘अन्ततः आईपीएल ट्रफी बेंगलुरु आइपुगेको छ। मेरो सपना साकार पार्ने सबैलाई धेरै बधाई र धन्यवाद।’
आरसीबीका पूर्व कप्तान विराट कोहलीले पनि आईपीएल उपाधि जितेपछि फ्यानहरूलाई धन्यवाद दिएका छन्। ‘यो टोलीले मेरो सपना साकार पार्यो, एउटा सिजन जुन म कहिल्यै बिर्सने छैन,’ उनले सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा लेखेका छन्।
उनले थपेका छन्, ‘यो जित ती सबै आरसीबी फ्यानहरूका लागि हो जसले हामीलाई सबैभन्दा कठिन समयमा पनि छोडेनन्।’ कोहलीले थप भने, ‘यो जित ती सबै वर्षको निराशा र टुटेको मनको लागि हो।’ आईपीएल ट्रफीको १८ वर्ष लामो प्रतीक्षाबारे उनले भने, ‘जहाँसम्म आईपीएल ट्रफीको कुरा छ, यो यति लामो समय पर्खनु उचित थियो।’ एजेन्सी
प्रकाशित: २१ जेष्ठ २०८२ १२:२५ बुधबार