खेल

ब्याटिङमा सुधारिँदै विराटनगर

लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गर्दै विराटनगर किङ्सका ओपनर लोकेश बम।तस्बिर: नागरिक

कुल तीन सय ८४ रन बनेको खेलमा विराटनगर किङ्सले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) मा आफूलाई पनि बलियो टोलीको रूपमा उभ्याएको छ।

जारी एनपिएलमा यसअघि विराटनगरले कमजोर प्रदर्शन गर्दा दुई खेल गुमाएको थियो। त्रिवि क्रिकेट मैदानमा बुधबार लुम्बिनी लायन्सविरुद्धको खेलमा पनि विराटनगरले बलिङमा सुधार गर्न सकेन। तर, ब्याटिङमा उत्कृष्ट प्रदर्शन ग¥यो र लुम्बिनीले दिएको १९२ रनको चुनौतीपूर्ण लक्ष्य भेट्टायो, त्यो पनि एक बलअगावै। विराटनगरको जितमा ओपनर लोकेश बमको प्रदर्शन उत्कृष्ट रह्यो। विशाल लक्ष्य पछ्याउने क्रममा उनलाई न्युजिल्यान्डका अनुभवी ब्याटर मार्टिन गप्टिल र बसिर अहमदले साथ राम्रो साथ दिए।

डेथ ओभरमा स्कटल्यान्डका अलराउन्डर क्रिस सोलले उत्कृष्ट फिनिस गरेपछि विराटनगरले दुई विकेटको रोमाञ्चकपूर्ण जित निकाल्यो। यससँगै लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर तेस्रो हारबाट जोगियो। यसै खेलमा सन्दीपले पनि एक विकेट लिए। यसअघि दुई खेलमा उनी विकेटविहीन थिए। तर, तेस्रो खेलमा चौथो ओभरमा उनले विकेट लिए पनि महँगा भए। उनीसँगै विराटनगरका बलरले किफायती बलिङ गर्न सकेनन्। त्यसको फाइदा उठाउँदै रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले सुरुदेखि आक्रामक ब्याटिङ ग¥यो।

एक समय लुम्बिनी २२० रनको लक्ष्यनजिक देखिएको थियो। तर, १६औं देखि १९औं ओभरमा विराटनगरका बलरले कसिलो बलिङ गर्दै लुम्बिनीलाई दुई सय रनको आँकडा पार गर्न दिएनन्। टस हारेर ब्याटिङको गरेको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९१ रनको योगफल तयार पार्‍यो।

कप्तान रोहितकुमारले ४६, टम मुरेसले ३०, ओपनरद्वय अर्जुन साउदले १७ र आशुतोष घिरैयाले १५ रन जोडे। मध्य क्रमका ब्याटर जफरले समान १५ र सन्दीप जोराले १२ रन जोड्दा विवेक यादवले १९ रनमा अविजित रहँदै विशाल योगफलतर्फ अग्रसर गराए। तर, बलिङमा राम्रो साथ पाउन नसक्दा लुम्बिनी त्यो योगफल रक्षा गर्न असफल भयो। विराटनगरका ओपनर लोकेशसँगै मार्टिन, बसिर र क्रिस चम्किए। लोकेशले ७१ रन, गप्टिलले २८ रन र बसिरले  ४० रन बनाए।

सोलले चार बलमा १४ रन हिर्काउँदै जित दिलाए। विशाल लक्ष्य पछ्याएको विराटनगरको सुरुआत राम्रो हुन सकेको थिएन। पहिलो ओभरमै ओपनर इस्मात आलम शून्यमा नै पेभेलियन फर्किए। लुम्बिनीका बलर रेमोन सिमोन्ड्सले आलमलाई कप्तान रोहितकुमार पौडेलबाट क्याच गराए। तर, त्यसपछि ओपनर लोकेशले दोस्रो विकेटका लागि मार्टिनसँग ६२ रनको इनिङ अगाडि बढाए।

यी दुईले पावर प्लेमा नै ५४ रन जोड्दै राम्रो सुरुआत दिलाए। आठौं ओभरमा गप्टिल दुर्गेश गुप्ताद्वारा बोल्ड भए र विराटनगरको दोस्रो विकेट गयो। गप्टिलले २३ बलमा चार चौका र एक छक्का प्रहार गरे।

लगातार दुई बलमा थप दुई विकेट गुमाएपछि विराटनर संकटमा प¥यो। राजेश पुलामी ४ रन र निकोलस किर्टन शून्यमा आउट भए। यससँगै विराटनगर ९.४ ओभरमा ७२÷४ को स्थितिमा पुग्यो। तर, बसिरले पाँचौं विकेटका लागि लोकेशलाई साथ दिए र ७८ रन साझेदारी गरे।

१७औं ओभरमा बसिर पनि दुर्गेशद्वारा नै आउट भए। बसिरले २३ बलमा चार चौका र एक छक्का प्रहार हिर्काए। लगत्तै १८औं ओभरमा विराटनगरले ठूलो झड्का सामना गर्नुपर्‍यो। लोकेश बाउन्ड्री लाइनमा नै क्याच आउट हुन पुगे। यससँगै विराटनगरको जित कठिन देखियो। लोकेशले ४७ बलमा तीन चौका र ६ छक्का प्रहार गरे। त्यसपछि प्रतीश जिसी ३ बलमा एक छक्कासहित ६ रन जोडेर आउट भए। उनलाई पनि दुर्गेशले नै पेभेलियन फर्काए। कप्तान सन्दीप ३ बल खेलेर १ रनमै आउट भए।

तर, सोलले डेथ ओभरको तेस्रो बलमा छक्का, चौथो र पाँचौं बलमा चौका प्रहार गर्दै एक बलअगावै जित दिलाए। लुम्बिनीको बलिङमा दुर्गेशले तीन, सिमोन्ड्स र साद बिन जफरले समान दुई तथा विवेक यादवले एक विकेट लिए।

कर्णालीको दोस्रो हार

भारतीय क्रिकेटर शिखर धवनको अर्धशतकका बावजुद कर्णाली याक्सले एनपिएलमा दोस्रो हार सामना गरेको छ। ओपनर धवनले ७२ रनको अर्धशतक बनाए पनि कर्णाली बुधबार काठमाडौं गुर्खाजसँग तीन विकेटले पराजित भएको हो।

त्रिवि क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा लक्ष्य रक्षा गर्ने क्रममा एक समय कर्णाली जितनजिक देखिएको थियो। अन्तिम चार ओभरमा ५० रन खर्चिएपछि कर्णालीले दोस्रो हार सामना गरेको हो। कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौंले १९.३ ओभरमा सात विकेट गुमाउँदै भेट्टायो।

१६औं ओभरमा काठमाडौं १००/५ को स्थितिमा थियो। कर्णालीले १६औं ओभरसम्म कसिलो बलिङ गर्दै खेल नियन्त्रणमा पनि राख्यो। यद्यपि, अन्तिम ओभरमा समालिन सकेन।  काठमाडौंका मध्यक्रमका ब्याटर सुमित महर्जन र जेरार्ड इरासमसले ५७ रनको महत्त्वपूर्ण साझेदारी गर्दै जितको आधार बनाए।

जेरार्डले ३८ रनमा आउट भए। सुमित ४० रनमा अविजित रहे। उनी म्यान अफ द म्याच पनि भए। उनले ३७ बलमा तीन चौका र एक छक्का प्रहा गरे। जेरार्डको इनिङमा तीन चौका र दुई छक्का रह्यो। ३.२ ओभरमा दुई विकेट पतन भएपछि काठमाडौंको सुरुआत राम्रो हुन सकेन। ओपनर शंकर राना ६ रन र स्टेफन इस्किनाजी ३ रनमा आउट भए। अर्का ओपनर माइकल लेभितले इनिङ समाले। तर, युवा स्पिनर विपिन शर्माले लेभितलाई २२ रनमा आउट गर्दै काठमाडौंको तेस्रो विकेट लिए।

लेभिटले १९ बलमा दुई चौका र एक छक्का हिर्काए। लगत्तै आठौं ओभरमा भीम सार्की ९ रनमै पेभिलियन फर्किए। यससँगै ७.१ ओभरमा काठमाडौं ४१/४ को अवस्थामा पुग्यो। तर, त्यसपछि सुमित र जेरार्डले इनिङ समाले। कर्णालीका अलराउन्डर गुलसन झाले १६औं ओभरमा जेरार्डलाई आउट गर्दै साझेदारी तोडे।

कप्तान करण केसी २८ रन जोड्दै सुमितलाई साथ दिए। करणले १० बलमा समान दुई चौका र छक्का प्रहार गरे। कर्णालीको बलिङमा कप्तान सोमपाल कामी महँगा साबित भए। उनले चार ओभरमा ३४ रन खर्चंदा एक विकेट लिए। नन्दन यादव, गुलसन झा, जिसान मक्सुद, विपिन शर्माको नाममा पनि समान एक विकेट रह्यो।

त्यसअघि टस हारेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा १४९ रन जोड्यो। ओपनर धवनले ७२ रनको इनिङ खेल्दा ५१ बलमा चार चौका र पाँच छक्का हिर्काए। कर्णालीले इनिङको तेस्रो बलमै ओपनर देव खनाललाई शून्यमा गुमायो। तर, अर्को छेउबाट धवनले धैर्यतापूर्वक ब्याटिङ गरे।

चाडविक वाल्टनले २१ रन जोड्दै धवनलाई साथ दिए। चौथो ओभरमा इरासमसले चाडविकलाई आउट गरे। चाडविकले १५ बलमा पाँच चौका हिर्काए। त्यसपछि बाबर हायात १३ र गुलसन १२ रनमा आउट भए। यी दुई आउट भएसँगै आएका अर्जुन घर्ती ४ रनमा नै पेभेलियन फर्किए। जिसानले १४ रनमा अविजित रहँदै धवनलाई साथ दिए। यी दुईबीच ६५ रनको साझेदारी भयो।  

प्रकाशित: २० मंसिर २०८१ ०८:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App