समाज

ढुंगामा च्यापिएर युवकको मृत्यु

सांकेतिक तस्बिर

जुम्लाको सिंजा गाउँपालिका–३ खानीडाँडामा ढुङ्गा निकाल्ने क्रममा माथिबाट खसेको ठूलो ढुङ्गाले च्यापिँदा एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिंजा गाउँपालिका–३ भुलीगाउँका २७ वर्षीय राजीव शाही रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक शालिकराम खनालका अनुसार बुधबार अपराह्न करिब २:३० बजे आफ्नै घर निर्माणका लागि ढुङ्गा निकालिरहेका बेला अचानक माथिबाट ठूलो ढुङ्गा खसेर शाही च्यापिएका थिए।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी नराकोटबाट खटिएको टोलीले उद्धार गरी शाहीलाई नराकोट स्वास्थ्य चौकी पुर्‍याएको थियो। त्यहाँबाट थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगिएको भए पनि उपचारकै क्रममा बेलुका ५:५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

घर निर्माणका लागि आफैं ढुङ्गा निकाल्ने क्रममा भएको यो दुर्घटनाले ग्रामीण क्षेत्रमा जोखिमपूर्ण श्रम गर्दा अपनाउनुपर्ने सुरक्षाको आवश्यकतालाई फेरि उजागर गरेको छ।

प्रहरीले घटनाको वास्तविक प्रकृति र कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: १३ श्रावण २०८३ २१:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App