समाज

पूर्वप्रधानमन्त्री स्वर्गीय कोइरालाको ८८ औँ जन्मजयन्तीमा माल्यार्पन

नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री एवं संविधान पिता स्वर्गीय सुशील कोइरालाको ८८ औँ जन्मजयन्तीका अवसरमा बाँकेमा विशेष कार्यक्रम आयोजना गरिएको छ।

नेपाली कांग्रेस बाँकेको आयोजनामा आज (बिहीबार) माल्यार्पन, रक्तदान लगायतका कार्यक्रम गरिएको हो। आज बिहान नेपालगन्जको ट्राफिक चोकमा रहेको सुशील पार्कमा रहेको स्वर्गिय कोइरालाको शालिकमा माल्यार्पन गरियो। कार्यक्रमका प्रमुख अतिथी एवम निवर्तमान जिल्ला सभापति किरण कोइराला, कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी लगायतले माल्यार्पन गरे।

सो कार्यक्रममा निवर्तमान जिल्ला उपसभापति सुनिलनरसिंह राणा, वर्तमान जिल्ला सचिव सुधान्सु कोइराला, जिल्ला कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सह-सचिव रेणुसिंह ठाकुर, नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति पोषणराज केसी, क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ता, जिल्ला नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान उपमेयर एवम कांग्रेस नेतृ उमा थापासहित विभिन्न तहका नेता तथा कार्यकर्ता, शुभेच्छुक लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा स्वर्गीय कोइरालाको राजनीतिक योगदान, लोकतन्त्र, राष्ट्रियता तथा समाजवादप्रतिको प्रतिवद्धताको स्मरण गरियो। माल्यार्पन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका निवर्तमान जिल्ला सभापति कोइरालाले सबै दललाई मिलाएर संविधान जारी गर्न सफल व्यक्तित्व स्वर्गिय कोइराला भएको बताइन्। स्वर्गिय कोइरालाले राष्ट्रका लागि अतुलनीय योगदान गरेको बताइन्। कांग्रेस बाँकेका कार्यबाहक सभापति अधिकारीले पार्टी भित्र बढेको विचलनप्रति चिन्ता व्यक्त गरे।

नेपालगन्ज-१० का स्थानीय बासिन्दा समेत रहेका कोइराला बाँके क्षेत्र नम्बर २ बाट पटक-पटक चुनाव लडेका थिए। कांग्रेसको सभापति हुँदै प्रधानमन्त्री बनेका कोइरालाको नेतृत्वमा संविधान सभाबाट २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो। उनी नेपाली राजनीतिमा सादगी, निष्ठा र लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धताका लागि परिचित थिए ।

प्रकाशित: २८ श्रावण २०८३ १०:०५ बिहीबार