समाज

रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या

रौतहटमा खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ। गुजरा नगरपालिका वडा नम्बर ५ हरिहरपुर टोलमा शुक्रबार बिहान खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ।

स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी ४०/४५ वर्षीया रेनु देवी जयसवालको खुकुरी प्रहारबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार बिहान करिब १०:३० बजे बाराको करैयामाई गाउँपालिका–८ ईटहर बेलाही टोल निवासी हाल गुजरा नगरपालिका–५ हरिहरपुर टोल बस्ने अन्दाजी ३५ वर्षीय उपेन्द्र साह कलवारले धारिलो हतियार (खुकुरी) प्रहार गरेका थिए।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी रेनु देवीको घटनास्थलमै मृत्यु भएको थियो। घटनापछि आक्रोशित स्थानीयवासीले आरोपी उपेन्द्रमाथि कुटपिट गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते भएका उनको चन्द्रपुर अस्पताल, चन्द्रनिगाहपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाको कारण भने हालसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घटनास्थलमा प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान तथा प्रमाण संकलनको काम गरिरहेको छ।

हत्या हुनुको कारण र घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित: ८ श्रावण २०८३ १३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App