समाज

सङ्खुवासभामा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

फाइल।

सङ्खुवासभामा अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ।

जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ वर्षीया सरु राईलाई अत्यधिक रक्तश्राव भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिए।

सुत्केरी राईलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्धार गरिएको हो।

आज बिहान ८ बजे अस्पताल सङ्खुवासभामा शल्यक्रिया गरिएपछि सुत्केरी राईलाई अत्यधिक रक्तश्राव भएपछि हेलिकप्टरबाट उद्धार गरिएको हो। उनलाई काठमाडौंको थापाथली प्रसूति गृहमा पठाइएको जिल्ला अस्पतालका प्रमुख सन्तोष देवले बताए।

दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाई उद्धार गरी तोकिएको अस्पतालमा पुर्‍याउने व्यवस्था मिलाउने गरेको छ।

दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार कार्यविधि २०७७ अनुसार उद्धार गरिएको हो। जिल्लामा यस आर्थिक वर्षमा एक दर्जन सुत्केरी तथा गर्भवतीको उद्धार भइसकेको छ।

-रासस

प्रकाशित: ४ चैत्र २०८२ २१:२० बुधबार