रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुरेको चारतले घरभित्रबाट ‘बचाऊ-बचाऊ’ भन्ने गुहार सुनेपछि सुरक्षाकर्मीले ११औं दिनमा एक ६४ वर्षीया महिलाको जीवितै उद्धार गरेका छन्।
नुवाकोटको विदुर नगरपालिका-१०, बेत्रावती बजारस्थित आनन्दलाल श्रेष्ठको पुरिएको घरबाट उनकी श्रीमती चन्द्रीका श्रेष्ठलाई शनिबार अपराह्न सकुशल बाहिर निकालिएको हो।
उद्धारलगत्तै उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याएर वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा भर्ना गरिएको छ। हाल उनको स्वास्थ्य अवस्था ‘मध्यम’ रहेको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक महेन्द्र दर्नालको कमान्डमा खटिएको उद्धार टोलीले बेत्रावतीस्थित नदीको बगर तथा क्षतिग्रस्त संरचनाहरूमा खोजी कार्य जारी राखेको थियो। सोही क्रममा टोली बाढीले पुरेको आनन्दलालको चारतले घरको छतमा पुगेको थियो।
छतमा पुगेपछि भित्रबाट मानिस कराएको जस्तो मधुरो आवाज सुनिएको प्रहरी निरीक्षक दर्नालले बताए। शङ्का लागेर उद्धार टोलीले पर्खालमा सानो प्वाल बनाएर हेर्दा भित्रबाट स्पष्ट रूपमा बचाऊ-बचाऊ भन्ने कारुणिक आवाज आयो। ‘त्यसपछि हामीले तत्कालै पर्खाल फुटाएर उहाँलाई जीवितै बाहिर निकाल्न सफल भयौं,’ प्रहरी निरीक्षक दर्नालले भने।
११ दिनअघि भोटेकोशीमा आएको भीषण बाढीले बेत्रावती बजारका अधिकांश घरहरू पुरेको थियो। कतिपय घरहरू बाढीमै बगेका थिए भने कैयौं नागरिक घरभित्रै पुरिएर मृत फेला परेका थिए।
बचेखुचेका संरचनाहरू समेत लेदो र गेग्रानले पुरिएर शवहरूको दुर्गन्ध फैलिरहेका बेला, चारतले घरको पर्खाल फोडेर ११औं दिनमा चन्द्रीकाको भने सकुशल उद्धार गरिएको छ।
प्रकाशित: २० भाद्र २०८३ १६:५८ शनिबार