पछिल्ला दिनमा देशका विभिन्न स्थानमा चट्याङसहित वर्षा बढ्न थालेपछि सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ। गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले चट्याङका बेला अपनाउनुपर्ने सावधानीका उपाय सार्वजनिक गरेको छ।
प्राधिकरणका अनुसार आकाशमा बिजुली चम्किन र गड्याङगुडुङ गर्न थालेपछि तुरुन्तै सुरक्षित स्थानमा सर्नुपर्छ। सम्भव भएसम्म नजिकैको घर वा सुरक्षित संरचनाभित्र प्रवेश गर्न सुझाव दिइएको छ।
साथै सुरक्षित ओत नपाएमा टाउकोलाई घुँडाबीच राखेर हातले खुट्टा समात्दै, खुट्टाको पन्जामा टेक्दै कुर्कुच्चा जोडेर बस्न भनिएको छ। यसरी शरीरलाई सकेसम्म सानो बनाउँदा जोखिम कम हुने जनाइएको छ। साथै समूहमा हुँदा एकअर्काबाट टाढा बस्न पनि आग्रह गरिएको छ, जसले सामूहिक क्षति कम गर्न मद्दत गर्छ।
खुला स्थान वा जंगलमा परेको अवस्थामा होचो भूभाग वा खोंचमा बस्न सल्लाह दिइएको छ।
यस्तै, चट्याङका बेला के नगर्ने भन्नेबारे पनि प्राधिकरणले सचेत गराएको छ। रुखमुनि, बिजुली वा टेलिफोनका पोल तथा टावर नजिक बस्न नहुने, छाता नओढ्ने र खेतबारीमा काम गरिरहेको भए तुरुन्त रोक्नुपर्ने बताइएको छ।
पानीजन्य स्थानहरू जस्तै खोला, पोखरी वा स्विमिङ पुलमा भए तुरुन्त बाहिर निस्किनुपर्ने र माछा मार्ने वा र्याफ्टिङ जस्ता गतिविधि नगर्न आग्रह गरिएको छ।
त्यसैगरी साइकल वा मोटरसाइकलमा हुँदा तुरुन्त रोकेर ओर्लिनुपर्ने र धातुका वस्तु वा उपकरण नछुन पनि सुझाव दिइएको छ।
प्राधिकरणले चट्याङबाट जोगिन सामान्य सावधानी अपनाएमा ठूलो क्षति हुनबाट बच्न सकिने भन्दै सबैलाई सचेत रहन आग्रह गरेको छ।
प्रकाशित: ७ चैत्र २०८२ १३:३३ शनिबार



