समाज

सुर्खेतमा के गर्दैछन् लक्जम्बर्गका राजकुमार लुइस ?

तस्बिर : नगेन्द्र उपाध्याय/नागरिक

लक्जम्बर्गका राजकुमार लुइस जेभियर मारी गुइलाउमले एईआईएनको आर्थिक सहयोगमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सञ्चालित विभिन्न परियोजनाहरूको अनुगमन गरेका छन्। 

सुर्खेतको बराहताल गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकामा लक्जम्बर्गस्थित गैरसरकारी संस्था एईआईएनको आर्थिक सहयोग र नवज्योति केन्द्रको साझेदारीमा सञ्चालित विभिन्न परियोजनाहरूको अनुगमन गरेका हुन्।

सो क्रममा राजकुमार लुइसले परियोजनाबाट लाभान्वित स्थानीयसँग प्रत्यक्ष अन्तरक्रिया गरेका थिए। वीरेन्द्रनगर-९ की मिना सुनारले राजकुमार लुइसलाई आफ्नो विगत र अहिलेको अवस्थाका बारेमा जानकारी गराइन्।

‘घरेलु हिंसाका कारण आत्महत्याको बाटो रोज्ने अवस्था पुगेको बेला नवज्योतिले कानुनी सहायता दियो, तालिम दिएर रोजगार बनायो,’ राजकुमारसँग उनले भनिन्, ‘अहिले सिलाई कटाई पसल चलाएकी छु, घरमा बाख्रा र कुखुरा पालेकी छु, तरकारी खेती गरेर छोराहरूलाई उच्च शिक्षा पढाइरहेकी छु, हिंसाबाट मुक्त भएकी छु।’

स्थानीय ममता चौधरीले एईआईएनको आर्थिक सहयोगमा सञ्चालित गरिबी निवारणका लागि जीविकोपार्जन तथा उत्थानशीलता परियोजनाले आफूहरूजस्ता विपन्न समुदायमा उल्लेख्य परिवर्तन आएको बताइन्। ‘परियोजनामार्फत सीप सिक्यौँ, बचत गर्न सिक्यौँ,’ उनले भनिन्, ‘तिलपुर गाउँ अहिले फुसको छानोमुक्त बनाउन सफल भएका छौँ।’ उनले पहिले अरूको घरमा काम गर्नुपर्ने बाध्यताको अन्त्य भएको बताउँदै अहिले समूहमा आबद्ध सबै व्यवसायी बनेको बताइन्।

‘नवज्योति केन्द्र र हामीबिच नङ र मासुको सम्बन्ध छ,’ उनले राजकुमारसँग भनिन्, ‘यसलाई आगामी दिनहरूमा पनि निरन्तरता दिनु आवश्यक छ।’ तिलपुरका महिलाहरूले मासिक २० रुपैयाँ बचतबाट सुरु गरेको सहकारीमा अहिले ३० लाख बचत छ। 

‘समूहभित्रकैलाई ऋण दिन्छौँ, तरकारी र अन्य व्यवसाय गरेको आम्दानी पनि सहकारीमा जम्मा गर्छौं,’ उनले भनिन्, ‘परियोजनाले अहिले हामीलाई दौडिन सिकाइरहेको छ।’ तिलपुरमा ९५ वटा थारु समुदायका घरहरू छन्। अहिले उनीहरू आफैँले परियोजनाको सहयोगमा थारु होमस्टे सञ्चालन गरेका छन्। केही समयमै ९५ वटै घरमा होम-स्टे सञ्चालनमा ल्याउने उनीहरूको लक्ष्य छ।

‘परियोजनाले आम्दानी मात्रै गर्न सिकाएन, आफ्नो कला, संस्कृतिको संरक्षण र प्रचार-प्रसारका लागि पनि सहयोग गर्‍यो,’ उनले भनिन्, ‘आगामी दिनमा पनि यो कार्यक्रम निरन्तरता होस् भन्ने हाम्रो चाहना छ।’

नवज्योति केन्द्र नेपाल नाजरेथ सोसाइटीबाट सञ्चालित गैरसरकारी संस्था हो। यसको नेतृत्व सिस्टर रोसिता मथाईले गर्दै आएकी छन्। कार्यक्रममा लक्जम्बर्गका राजकुमार लुइसले रोसिताको खुलेर प्रशंसा गरे।

‘नवज्योतिसँग काम गर्न पाउँदा खुसी छु, विभिन्न परियोजनाको काम र प्रगतिको म आफैँ साक्षी बन्न पाएँ,’ स्थानीयका कुरा सुनेपछि राजकुमार लुइसले भने, ‘यति राम्रो काम भएको होला भन्ने मैले साँच्चै सोचेको थिइनँ। यसको श्रेय सिस्टर रोसितालाई जान्छ।’ उनले हाल सञ्चालित कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्छ भन्ने आफूलाई लागेको बताए। ‘कामको दिगोपनका लागि काम गर्नुछ,’ उनले भने, ‘सधैँ म तपाईंहरूसँग छु।’

प्रकाशित: ५ मंसिर २०८३ २०:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App