समाज

कमजोर मनसुनले बढाउन सक्छ विपद्को जोखिम, पूर्वतयारी गर्न मौसमविद्को आग्रह

यो वर्ष नेपालमा मनसुनका बेला सरदरभन्दा कम वर्षा हुने प्रारम्भिक आँकलन गरिएको भए पनि मौसमविद्ले विपद्को जोखिम भने कम नआँक्न आग्रह गरेका छन्। जल तथा मौसम विज्ञान विभागले मनसुन कमजोर देखिए पनि त्यसकै कारण बाढी, पहिरो वा डुबानजस्ता विपद्का घटना कम हुन्छन् भन्ने निष्कर्षमा पुग्न नहुने चेतावनी दिएको छ।

विभागका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले मनसुन कमजोर हुँदा स्थानीय वायु बढी सक्रिय हुन सक्ने र त्यसले छोटो समयमा अत्यधिक वर्षा गराएर ठूलो क्षति निम्त्याउन सक्ने चेतावनी दिए। उनका अनुसार मनसुनी प्रणाली नियमित र एकनासले सक्रिय हुँदा देशभर सामान्य वर्षा हुने भए पनि केही दिनसम्म प्रणाली रोकिएर एकैपटक सक्रिय हुँदा अत्यधिक वर्षाको सम्भावना रहन्छ। यस्तो अवस्थाले विशेषगरी बाढी र पहिरोको जोखिम बढाउने उनको भनाइ छ।  

अर्यालका अनुसार स्थानीय वायु लामो समयसम्म एउटै क्षेत्रमा केन्द्रित हुँदा खण्डित तथा असमान वर्षा हुन्छ। यस्तो वर्षाले थोरै समयमा ठूलो पानी पार्ने भएकाले पहाडी तथा हिमाली जिल्लामा पहिरो र तराई क्षेत्रमा बाढीको जोखिम उच्च बन्न सक्छ। उनले कम वर्षाको अनुमानलाई आधार बनाएर ढुक्क नबस्न आग्रह गर्दै विपद्का घटना अप्रत्याशित रूपमा हुन सक्ने बताए।

वरिष्ठ मौसमविद् अर्यालले अहिले नै जोखिमयुक्त बस्ती, खोला आसपासका क्षेत्र तथा पहिरोको सम्भावना भएका स्थानको पहिचान गरेर पूर्वतयारी थाल्न स्थानीय तह र सर्वसाधारणलाई सुझाव दिएका छन्। उद्धार तथा राहतको तयारी, सुरक्षित स्थानको व्यवस्थापन र मौसमसम्बन्धी सूचनामा नियमित ध्यान दिन पनि विभागले आग्रह गरेको छ।

विभागको प्रक्षेपण : अधिकांश क्षेत्रमा कम वर्षा, तापक्रम पनि औसतभन्दा बढी रहने

नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको समयलाई मनसुन अवधि मानिन्छ । यही अवधिमा वर्षभर हुने कुल वर्षाको करिब ८० प्रतिशत पानी पर्ने भएकाले कृषि, अर्थतन्त्र र जनजीवनमा यसको प्रत्यक्ष प्रभाव पर्ने गर्दछ । बाढी, पहिरो र डुबानजस्ता विपद्का कारण हरेक वर्ष धनजनको क्षति हुने भएकाले मनसुनको अवस्थाबारे चासो बढ्ने गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले पनि यस वर्ष देशभर औसतभन्दा कम वर्षा र अधिकतम तथा न्यूनतम तापक्रम औसतभन्दा बढी रहने प्रक्षेपण गरेको छ । विभागका मौसमविद् सुदर्शन हुमागाईंले सास्कोफको प्रतिवेदनका आधारमा अधिकांश क्षेत्रमा कम वर्षा हुने अनुमान गरिएको बताए ।

उनका अनुसार कर्णाली, बागमती र कोशी प्रदेशका उत्तरी भूभागबाहेक धेरै क्षेत्रमा औसतभन्दा कम वर्षा हुने सम्भावना रहेको छ । कर्णालीका दक्षिणी भूभाग, लुम्बिनीका अधिकांश क्षेत्र, मधेशका पूर्वी भूभाग तथा कोशीका दक्षिणी क्षेत्रमा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको विभागले जनाएको छ । यस्तै सुदूरपश्चिमका अधिकांश भूभाग, मधेशका पश्चिमी क्षेत्र र कोशीका मध्य भागमा पनि औसतभन्दा कम वर्षा हुने सम्भावना रहेको छ ।

विभागका अनुसार देशभर तापक्रम पनि सामान्यभन्दा बढी रहने सम्भावना छ । विशेषगरी सुदूरपश्चिम, कर्णाली, बागमतीका उत्तरी भूभाग, मधेशका पूर्वी क्षेत्र तथा कोशीका दक्षिणी भूभागमा न्यूनतम तापक्रम सामान्यभन्दा बढी रहने अनुमान गरिएको छ ।

विभागकी प्रवक्ता विभूति पोखरेलले नेपालको मनसुनलाई असर गर्ने धेरै कारक भएकाले अहिले नै ठोकुवा गर्न नसकिने बताइन् । उनका अनुसार मनसुनको अवस्थाबारे समय–समयमा अद्यावधिक गरिने भएकाले त्यसलाई निरन्तर निगरानी गर्न आवश्यक छ ।

किन कमजोर बन्दैछ मनसुन ?

मौसमविद्हरूका अनुसार यस वर्ष मनसुन कमजोर हुनुमा ‘एल निनो’ र आईओडी मुख्य कारण हुन् । प्रशान्त महासागरको तापक्रम औसतभन्दा बढी हुने अवस्थालाई ‘एल निनो’ भनिन्छ, जसले दक्षिण एसियाली मनसुनलाई कमजोर बनाउने गर्दछ । यद्यपी हाल यो अवस्था तटस्थतर्फ उन्मुख भए पनि यसको प्रभाव अझै कायम रहेको बताइएको छ । त्यसैगरी हिन्द महासागरको तापक्रम अवस्था तटस्थ रहँदा जलवाष्पयुक्त हावा नेपालसम्म आइपुग्न कठिन हुने अनुमान गरिएको छ ।

सास्कोफको प्रतिवेदनले के देखायो ?

दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोफ)ले हरेक वर्ष दक्षिण एसियाली मुलुकहरूको ऋतुगत मौसम पूर्वानुमान सार्वजनिक गर्दै आएको छ । हालै माल्दिभ्सको मालेमा बसेको बैठकमा अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, म्यानमार, नेपाल, पाकिस्तान र श्रीलंकाका मौसमविद्हरू सहभागी भएका थिए । बैठकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार दक्षिण एसियाका उत्तर–पश्चिमी, उत्तर–पूर्वी र दक्षिणी क्षेत्रका केही भागमा सामान्य वा सामान्यभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ भने मध्य क्षेत्रमा कम वर्षा हुने प्रक्षेपण गरिएको छ ।

नेपालका पूर्वी भूभाग उत्तर–पूर्वी क्षेत्रसँग नजिक पर्ने भएकाले केही ठाउँमा बढी वर्षा हुन सक्ने भए पनि देशको ठूलो भूभाग कम वर्षा हुने क्षेत्रमा पर्ने देखिएको छ । त्यसैले समग्रमा यस वर्ष औसतभन्दा कम वर्षा हुने अनुमान गरिएको हो ।

कृषि र ऊर्जा क्षेत्रमा असर पर्ने चिन्ता

नेपालको कृषि प्रणाली ७५ देखि ९० प्रतिशतसम्म मनसुनी वर्षामा निर्भर रहेको छ । वर्षा कम हुँदा धानसहित अन्य बाली उत्पादनमा असर पर्नुका साथै खाद्य असुरक्षा बढ्न सक्ने जोखिम देखिएको छ । त्यसैगरी अधिकांश जलविद्युत आयोजना नदीको बहावमा आधारित भएकाले पानीको कमीले ऊर्जा उत्पादनमा असर पर्ने चिन्ता पनि व्यक्त गरिएको छ ।

जलवायु परिवर्तनको प्रभाव बढ्दो

पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण मौसममा व्यापक उतारचढाव देखिन थालेको छ । कतै अत्यधिक वर्षा हुने र कतै लामो समयसम्म पानी नपर्ने अवस्था बढ्दै गएको भन्दै विज्ञहरूले कम पानीमा हुने बाली छनोट गर्ने, पानी भण्डारण बढाउने तथा तापक्रम अनुकूलनका कार्यक्रम लागू गर्न सुझाव दिएका छन् ।

प्रकाशित: ३१ वैशाख २०८३ १७:११ बिहीबार