समाज

बाँके-२ मा एमालेका इश्तियाक राई विजयी

बाँके क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राई फराकिलो मतान्तरसहित विजयी भएका छन्।

यस जितसँगै निर्वाचनमा एमालेले आफ्नो खाता खोलेको छ। राईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसका उम्मेदवारलाई पछाडि पार्दै जित दर्ता गराएका हुन्।

सार्वजनिक अन्तिम मतपरिणाम अनुसार विजयी उम्मेदवार राईले २४ हजार ६ सय २६ मत प्राप्त गरेका छन्।

दोस्रो स्थानमा रहेका रास्वपाका उम्मेदवार विवेककुमार श्रेष्ठले १८ हजार ५ सय ८१ मत मात्र ल्याउन सकेका छन्। विजयी राई र उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठबीचको मतान्तर ६ हजार ४५ रहेको छ।

यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस तेस्रो स्थानमा खुम्चिएको छ। कांग्रेसका उम्मेदवार सुधान्सु कोइरालाले १७ हजार ५ सय ९० मत प्राप्त गरेका छन्। रास्वपा र कांग्रेसबीचको मतान्तर भने निकै कम छ।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ऋषिराज देवकोटाले १ हजार २ सय ८६ मत हासिल गरेका छन्। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दीपेन्द्र विष्ट जम्मा १ हजार १५ मतसहित पाँचौं स्थानमा रहेका छन्।

प्रकाशित: २३ फाल्गुन २०८२ ०३:४९ शनिबार