ललितपुरको लगनखेलस्थित सडकपेटीमा पैदल हिँडिरहेका एक ज्येष्ठ नागरिकमाथि अभद्र व्यवहार गरेको आरोपमा नेकपा (एमाले) का एक कार्यकर्ता पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१० टाखेलका ३० वर्षीय रामशरण शर्मा बजगाईं रहेका छन्।
आइतबार लगनखेलस्थित पाटन मानसिक अस्पताल अगाडिको सडकपेटीमा हिँडिरहेका ती ज्येष्ठ नागरिकमाथि बजगाईंले अभद्र व्यवहार गरेका थिए।
घटनाको समयमा बजगाईंको समूहले एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा प्रदर्शन गरिरहेको थियो। सोही क्रममा ती ज्येष्ठ नागरिकले एमालेविरुद्ध नारा लगाएका थिए। त्यसपछि बजगाईंको समूह उनीमाथि जाइलागेको थियो।
ललितपुर प्रहरीका अनुसार उनलाई गोदावरी नगरपालिका-१० बाट नियन्त्रणमा लिइएको हो। हाल उनलाई जिल्ला प्रहरी परिसर ललितपुरमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, गृहमन्त्री सुधन गुरुङले पनि बजगाईं पक्राउबारे सामाजिक संजालमा लेखेका छन्। उनले नागरिकको सुरक्षामा सरकार गम्भीर रहेको उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘हरेक नागरिकलाई कसैले दुःख दिएको छ कि छैन भनेर सरकारले नजिकबाट नियालिरहेको छ। कृपया ध्यान दिनुहोला, कानुनभन्दा माथि कोही पनि छैन।’
प्रकाशित: १७ चैत्र २०८२ २०:५३ मंगलबार