समाज

१८ दिनको सास्तीपछि दुईतर्फी खुल्यो राजधानीको ‘लाइफलाइन’

<br>

<br>

पहिरोले १८ दिनदेखि पूर्ण रूपमा ठप्प बनेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर सडक दुईतर्फी सञ्चालनमा आएको छ।

राजधानीको प्रमुख ‘लाइफलाइन’ मानिने यो खण्ड सुचारु भएसँगै १८ दिनदेखि जारी यात्रु र ढुवानी व्यवसायीको सास्ती अन्त्य भएको छ।

सडक खुलेलगत्तै चितवनतर्फ रोकिएका करिब एक हजार नौ सय सवारीसाधनलाई बुधबार साँझ काठमाडौं पठाइएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहानदेखि दुवैतर्फी सवारीसाधन निर्वाध रूपमा गुड्न थालेका छन्।

त्रिशूली नदीको कटानले फेदमै करिब एक सय मिटर सडक भासिएपछि देशको राजधानीसँगको मुख्य सडक सम्पर्क विच्छेद भएको थियो। प्राविधिक टोलीले तीव्र गतिमा भित्तो काटेर नयाँ वैकल्पिक ट्रयाक निर्माण गरेपछि १८औं दिनमा यातायात पूर्ववत् अवस्थामा फर्किएको हो।

नारायणगढ–काठमाडौं रुटका माइक्रोबस चालक तथा धनी राजु थापाले बाटो बन्द हुँदा गरेको व्यवस्थापन रोचक छ। उनले कृष्णभिरको दुवैतर्फ आफ्ना दुईवटा माइक्रोबस राखेर सेवा दिएका थिए।

‘नारायणगढबाट एउटा माइक्रोमा कृष्णभिरसम्म यात्रु ल्याउँथेँ, पहिरोमा पैदल हिँडाएर पारि तारिन्थ्यो र त्यहाँ राखिएको अर्को माइक्रोमा चढाएर काठमाडौं पुर्‍याउँथेँ,’ थापाले १८ दिनको अनुभव सुनाए। अब सडक खुलेपछि यो सकस सधैँका लागि टरेको छ।

ठूला मालवाहक ट्रक, इन्धन र एलपी ग्यासका बुलेटलाई काठमाडौं ल्याउन नसक्दा तराईकै उद्योगहरूमा ग्यास बोटलिङ गर्नुपर्ने अवस्था आएको थियो। हेटौंडा हुँदै वैकल्पिक सडक प्रयोग गर्दा चालकहरूले चरम दुःख बेहोर्नुपरेको थियो।

भैरहवाबाट काठमाडौंतर्फ बस चलाउँदै आएका चालक आशिष क्षेत्रीका अनुसार हेटौंडाको वैकल्पिक बाटो ८१ किलोमिटर लामो, साँघुरो र खाल्डाखुल्डीले भरिएको थियो। ‘त्यसबेला हेटौंडाको जाम छिचोलेर काठमाडौं पुग्नै दुई दिनसम्म लाग्थ्यो, खर्चले ढाड सेकिन्थ्यो,’ उनले भने।

पर्साको ठोरी-काठमाडौं रुटका बस चालक रुपेश परियारले त लामो बाटोको महँगो खर्च धान्न नसकेर १८ दिनसम्म बस नै ग्यारेजमा थन्क्याउनुपरेको पीडा सुनाए। सडक खुलेपछि भने उनले पुनः नियमित रुटमा फर्किएका छन्।

यस्तै, भैरहवाबाट आएका अर्का चालक खुशीयाल पठान र नारायणगढ फर्कँदै गरेका ट्रक चालक शिवकुमार थारूले हेटौंडाको सास्ती सम्झिँदै पृथ्वी राजमार्ग खुल्दा ठूलो राहत मिलेको सुनाए।

सरकारले युद्धस्तरमा भित्तो काटेर छोटो समयमै वैकल्पिक मार्ग तयार गरेकोमा चालक र व्यवसायीहरूले प्रशंसा गरेका छन्। ‘काम गरे सकिँदो रहेछ भन्ने प्रमाण कृष्णभिरले दिएको छ,’ चालक क्षेत्रीले भने।

प्रकाशित: १ आश्विन २०८३ १६:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App