समाज

कपिलवस्तुमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

कपिलवस्तुमा मंगलबार छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकनजिकै लु २ ख ६४५५ टिप्परको ठक्करबाट परीक्षा दिएर घर फर्किरहेकी ९ वर्षीया छात्रा आशिका खत्रीको मृत्यु भएको हो। सोही वडाको जगदीशपुर डाका घर भएकी खत्री गुरुकुल बोडिङ स्कुलकी हुन्। उनको भैरहवा मेडीकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

कक्षा ३ मा अध्ययनरत उनको बालुवा लोड गेरर लैजाने क्रममा टिप्परले ठक्कर दिएको हो। दुर्घटनापछि आक्रोसित मृतकका आफन्त र स्थानीयवासीहरूले विरोध प्रदर्शन गर्दै बाटो समेत अवरोध गरेका थिए। टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, कपिलवस्तुको कृष्णनगर नगरपालिका-१ सालीमा हल चोक नजिकै बिहीबार ११ बजेतिर बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गरेको रा १ ख २१४२ नम्बरको बसको ठक्करबाट बुद्धभुमी नगरपालिका वडा नम्बर १० का डिल्लीराम थारुको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका थारुलाई उपचारका लागि बहादुरगंज अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि बुटवल प्रादेशिक अस्पताल पठाइएकोमा करिब २ बजे थारुको मृत्यु भएको प्रहरीले जनाएको छ। चालक र बस प्रहरी नियन्त्रणमा छन्।

प्रकाशित: १७ चैत्र २०८२ १९:०१ मंगलबार