सर्लाही प्रहरीले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी ध्वनि प्रदूषण गराउने डिजेसहितको गाडी र दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले डिजे बजाउन प्रतिबन्ध लगाएको थियो। सुरक्षा समितिले निर्णय गरेर डिजे पुर्णरुपमा प्रतिबन्ध लगाउन निर्देशन जारी गरेपनी त्यसको अवज्ञा गर्दै ध्वनि प्रदूषण गरेको आरोपमा डिजेसहितको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
मलंगवा नगरपालिका वडा नम्बर ९ गोरखकाली चौकीको टोलीले डिजेसहितको गाडी नियन्त्रणमा लिइएको जिप्रका मलंगवाले जनाएको छ।
प्रहरीले गाडीसहित डिजे सञ्चालक र चालकलाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
पक्राउ पर्नेमा हरिपुर नगरपालिका १ का ५५ वर्षीय जागेश्वर पण्डित, डिजे सञ्चालक, र बागमती नगरपालिका–४ का २३ वर्षीय जगन्नाथ साह, डिजे जडित गाडीका चालक रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट डिजेजडित विभिन्न साउन्ड सिस्टमका उपकरणसहित दुई वटा गाडी नियन्त्रणमा लिएको जनाएको छ।
प्रकाशित: २५ श्रावण २०८३ १७:३७ सोमबार



