इरान र अमेरिकाबीच बढ्दो तनावकै बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन्।
भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत यसबारे जानकारी दिँदै दुई नेताबीच मध्यपूर्वको पछिल्लो सुरक्षा अवस्थाका विषयमा छलफल भएको बताएका हुन्।
राजदूत गोरका अनुसार ट्रम्प र मोदीबीचको कुराकानी मुख्यत: होर्मुज जलडमरुलाई लिएर केन्द्रित थियो। विश्वको प्रमुख तेल व्यापार मार्ग मानिने यो जलडमरुलाई इरानले बन्द गर्ने धम्की दिइरहेका बेला दुवै नेताले यसलाई जुनसुकै हालतमा खुला राख्नुपर्ने आवश्यकतामा जोड दिएका हुन्।
यसअघि ट्रम्पले जलडमरु खुला गर्न इरानलाई ४८ घण्टाको अल्टिमेटम दिएका थिए।
यता, इरानका सर्वोच्च नेता मुजतबा खामेनी अमेरिकासँग वार्ता गर्न तयार रहेको कुरा बाहिरिएसँगै ट्रम्पले इरानमाथि गर्ने भनिएको आक्रमण ५ दिनका लागि स्थगित गरेका छन्।
मध्यपूर्वको सञ्चारमाध्यम अल अरेबियाका अनुसार इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी दूत स्टिभ विटकफलाई गोप्य रूपमा भेटेर सर्वोच्च नेता खामेनीले आफ्ना सर्तहरूका आधारमा युद्धको चाँडो अन्त्य चाहने र त्यसका लागि वार्ताको अनुमति दिएको जानकारी गराएका थिए।
राष्ट्रपति ट्रम्पले पनि अमेरिका र इरानबीचको हालैको कुराकानीपछि १५ वटा बुँदामा सहमति जुटेको दाबी गरेका छन्।
यद्यपि, ती सहमतिका बुँदाहरूको पूर्ण सूची सार्वजनिक गरिएको छैन भने इरानको विदेश मन्त्रालयले तेहरान र वासिङ्टनबीच कुनै पनि प्रकारको वार्ता नभएको दाबी गर्दै आएको छ।
तनाव कम गर्न पाकिस्तान, इजिप्ट र टर्कीले अमेरिका र इरानबीच मध्यस्थताको प्रयास जारी राखेका छन्। यसै क्रममा, पाकिस्तानी पत्रिका ‘डन’ का अनुसार पाकिस्तानी सेना प्रमुख असीम मुनीरले आइतबार मात्रै अमेरिकी राष्ट्रपति ट्रम्पसँग टेलिफोन संवाद गरेका थिए।
प्रकाशित: १० चैत्र २०८२ १९:५३ मंगलबार