समाज

त्रिशूली ‘थ्री ए’ अपडेट: प्रवेशद्वारका ७ ठूला ढुंगा विष्फोट गरेर हटाइयो, पावरहाउस पुग्न १६० मिटर बाँकी

त्रिशूली थ्री-ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारका लागि सुरुङको मुखमा रहेका ७ वटा ठूला ढुंगा विष्फोट गरेर हटाइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं ऊर्जा तथा जलस्रोत विज्ञ श्रीराम न्यौपानेले उद्धार कार्यको पछिल्लो जानकारी दिँदै रातभर जमेको पानी निकालेर अवरोधक ढुंगाहरू फुटाइएको बताएका हुन्।

उनका अनुसार अहिले विष्फोट गरिएका ढुंगा पन्छाउँदै सतह कम गर्ने काम भइरहेको छ। सुरुङभित्र जमेको बाक्लो लेदो सफा गरेर बाहिर निकाल्नका लागि ‘ह्वील लोडर’ र ‘मिनी एक्साभेटर’ लाई तयारी अवस्थामा राखिएको सांसद न्यौपानेले जानकारी दिए।

सुरुङभित्रको लेदो सफा गर्दै अझै १६० मिटर दूरी पार गरेपछि मात्र उद्धार टोली पावरहाउससम्म पुग्नेछ। आयोजनाभित्र पावरहाउसलाई मात्र सुरक्षित स्थान मानिने भएकाले त्यहाँसम्म पुगेपछि फसेकाहरूको अवस्थाबारे थप यकिन हुने अपेक्षा गरिएको छ।

प्रकाशित: १७ भाद्र २०८३ १६:५० बुधबार