राहदानी विभागले राहदानी वितरण प्रणाली नयाँ प्रविधिमा रूपान्तरण गर्ने तयारी भइरहेकाले आगामी केही समय सेवा प्रभावित हुन सक्ने जनाएको छ।
विभागले आइतबार सूचना जारी गरेर नयाँ आपूर्तिकर्तासँग सम्झौता गरी नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने तयारी भइरहेको र हाल प्रयोगमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा जान केही समय लाग्ने उल्लेख गरेको छ। सो अवधिमा प्रणाली स्थिरीकरण (स्टेबिलाइजेसन) नहुँदासम्म राहदानी सेवा आंशिक रूपमा प्रभावित हुन सक्ने विभागले जनाएको छ।
सूचनाअनुसार जिल्ला र इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमार्फत प्रदान गरिँदै आएको राहदानी सेवा दैनिक एकदेखि तीन घण्टासम्म अवरुद्ध हुन सक्नेछ। यस्तै, राहदानी विभागबाट प्रदान गरिने सेवा पनि करिब एक घण्टासम्म बन्द हुन सक्ने बताइएको छ।
यस परिस्थितिलाई मध्यनजर गर्दै आगामी छ महिनाभित्र (२०८३ असोज मसान्तसम्म) राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई अन्तरिम अवस्था सुरु हुनुअघि नै नियमानुसार सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट राहदानी सेवा लिन विभागले अनुरोध गरेको छ।
नयाँ प्रणाली सुरु हुने मिति तथा उक्त अवधिमा गरिने व्यवस्थासम्बन्धी थप जानकारी अर्को सूचनामार्फत सार्वजनिक गरिने विभागले जनाएको छ।

प्रकाशित: १ चैत्र २०८२ १९:५४ आइतबार



