मकवानपुर प्रहरीले विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक शिक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिका–७ नागस्वतीस्थित श्री तासिर इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलका सामाजिक शिक्षाका शिक्षक ४५ वर्षीय अच्युत ओझालाई बालबालिकाविरुद्धको कसुर सम्बन्धी मुद्दामा पक्राउ गरिएको हो।
प्रहरीका अनुसार जेठ ७ गते दिउँसो करिब १२ः४० बजे कक्षा ८ मा अध्ययनरत १२ वर्षीय एक विद्यार्थीलाई शिक्षक ओझाले कक्षाकोठामै कुटपिट गरेको आरोप छ। घटनापछि पीडित बालकका अभिभावकले जेठ १६ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएका थिए।
जाहेरी परेपछि प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको टोलीले सोही दिन साँझ करिब ६ः४५ बजे शिक्षक ओझालाई हेटौंडा–६ पुतलीबजारस्थित निवासबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
कुटपिटबाट घाइते भएका विद्यार्थीको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ। विद्यार्थीको टाउकोमा चोट लागेको र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीइले जनाएको छ।
पक्राउ परेका शिक्षकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी बालबालिकाविरुद्धको कसुरसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १७ जेष्ठ २०८३ ०९:०३ आइतबार



-600x400.jpg)