समाज

कर्णालीका सबै मतदान केन्द्रमा पुगे कर्मचारी

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णालीका ९४१ वटै मतदानस्थलमा मतदान सामाग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगेका छन्।

प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीका १२ प्रतिनिधिसभा निर्वाचनका लागि ९४१ मतदानस्थल र एक हजार ४३७ मतदान केन्द्र छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता रामप्रकाश शाहले मंगलबार बिहानसम्म सबै कर्मचारी मतदानस्थल पुगिसकेका जानकारी दिए।

‘मतपत्र, मतपेटिकादेखि सियो–धागोसम्मका सामग्री बोकेर कर्मचारी र सुक्षाकर्मीहरु मंगलबार बिहानसम्म मतदानस्थल पुगिसकेका छन्,’ शाहले भने, ‘आजैदेखि मतदानस्थलको घरबार गर्नेलगायतका काममा खटिइसके।’

प्रदेश प्रहरी कार्यालयका अनुसार डोल्पाका २० र हुम्लाका चार वटा मतदानस्थलमा हेलिकोप्टरमार्फत कर्मचारी, सुरक्षाकर्मी र मतदान सामाग्रीहरु पुर्‍याइएको छ। निर्वाचन गराउन खटिएको कर्मचारी टोलीसँग रबरको छापदेखि लाहासम्मका ५२ प्रकारका सामग्री छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय कालिकोटका अनुसार सबै मतदान केन्द्रमा आवश्यक निर्वाचन सामग्री सुरक्षित रूपमा पुर्‍याइएको छ। जिल्लामा रहेका १२७ स्थायी र एक अस्थायी मतदान केन्द्र गरी १२८ केन्द्रमा निर्वाचन सामग्री पुर्‍याइएको छ।

सल्यानका ११७ मतदान स्थलअन्तर्गत २०५ मतदान केन्द्रका लागि आवश्यक सम्पूर्ण निर्वाचन सामग्री पुगेका छन्। निर्वाचनका लागि ४३० जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृत खटाइएको छ।

रुकुम पश्चिमका ७६ मतदानस्थल रहेकामा १४० स्थायी र दुई अस्थायी गरी १४२ मतदान केन्द्रमा निर्वाचन सामाग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन्।

जाजरकोटका ८८ मतदानस्थलका १४७ मतदान केन्द्रमा कर्मचारी र निर्वाचन समाग्रीहरु पुगेका छन्। हुम्लाका नाम्खा गाउँपालिकाको लिमी, तिललगायतका चार स्थानमा हेलिकप्टरबाटै कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामाग्री पुर्‍याइएको छ।  

प्रदेश प्रहरी कार्यालयका अनुसार ९४१ मतदान स्थलमध्ये ७७९ वटा स्थल संवेदनशील सूचीमा छन्। जसमध्ये ३५९ स्थल अति संवेदनशील, ४२० स्थल संवेदनशील र जम्मा १६२ स्थल मात्रै सामान्य छन्।  

एक हजार ४३७ मतदान केन्द्र मध्ये एक हजार एक सय मतदान केन्द्र सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएका छन्।  

कूल १० लाख ३७ हजार २५० जना मतदाता रहेको कर्णालीमा १२ वटा सिटका लागि १३२ जना चुनावी मैदानमा रहेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ।

प्रकाशित: १९ फाल्गुन २०८२ १५:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App