समाज

चितवनमा शवको खोजी, पहिचान तथा व्यवस्थापन

 त्रिशूली तथा नारायणी नदीमा बगेर आएका शवको खोजी, पहिचान तथा व्यवस्थापनका लागि चितवनमा आवश्यक तयारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको आकस्मिक बैठकले शव सुरक्षित राख्ने, खोजतलास गर्ने, पहिचान गर्ने तथा सम्बन्धित परिवारलाई बुझाउने लगायत विषयमा विभिन्न निर्णय गरेको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग परिसरको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो भवनलाई शव संरक्षणस्थलका रूपमा प्रयोग गरिने बताए।

अर्यालले भने, “यहाँका अस्पतालमा पनि शव आउने र अस्पतालमा पर्याप्त स्थान नभएकाले व्यवस्थापनका लागि यो स्थान तय गरिएको हो।”

उनले भोटेकोशी नदीबाट बगेर आएका शव चितवनमा आउन सक्ने भएकाले खोज तथा उद्धार टोली परिचालन गरिएको बताए। उनले अहिलेसम्म ७३ शव भेटिएको बताए।

बीभत्सतस्बिर राखेर समाजलाई आतङ्कित बनाउने काम नगरिदिन आग्रह समेत उनले आग्रह गरेकाे छ।

शव सुरक्षित राख्न आवश्यक बरफलगायत सामग्रीको व्यवस्था चितवन उद्योग वाणिज्य सङ्घ र रत्ननगर उद्योग वाणिज्य सङ्घले उपलब्ध गराउने छन्।

यस्तै प्रतिष्ठानको भवनअघि टेन्ट राखेर ‘विपद् सहायता कक्ष’ सञ्चालन गरिनेछ। उक्त कक्षमार्फत बेपत्ता व्यक्तिको खोजी, शव पहिचान तथा आफन्तलाई शव बुझाउने कार्यमा सूचना समन्वय गरिनेछ।

शव खोजतलासका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भरतपुर महानगर प्रहरीलाई संयुक्त रूपमा परिचालन गरिने प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार नदीबाट शव निकाल्नेबित्तिकै पहिचान प्रक्रियालाई सहज बनाउन शवको समग्र तथा नजिकबाट स्पष्ट देखिने तस्बिर खिचिनेछ।

आवश्यक परे तस्बिर स्पष्ट बनाएर शवलाई ट्यागसहित ‘डेड बडी ब्याग’ मा राखिनेछ। त्यसपछि शवलाई तोकिएको संरक्षणस्थलमा शून्य डिग्री तापक्रमको एसीमा राख्ने व्यवस्था गरिएको छ।

शवको पहिचान नभएका अवस्थामा बेपत्ता व्यक्तिका आफन्तलाई भेटिएका शवका तस्बिर देखाएर पहिचान गर्न सहयोग गरिने एसपी पौडेलले बताए।

आफन्तले शरीरमा रहेका ट्याटु, अन्य चिनो, कपडा तथा शवबाट देखिने पहिचानका आधारमा पहिचान गर्न सक्ने उनले बताए।

पहिचानका आधारमा शव बुझ्न आउने व्यक्तिको आधिकारिकता परिचयपत्र लगायत कागजातबाट यकीन गरिने र आधिकारिक आफन्त भएको पुष्टि भएपछि समितिका माध्यमबाट कानुनी प्रक्रिया पूरा गरी शव जिम्मा लगाउने व्यवस्था मिलाइएको उनले बताए।

यसैगरी बाहिरी जिल्लाबाट आफन्तको खोजी तथा शव पहिचानका लागि चितवन आउने व्यक्तिका लागि होटल सङ्घको समन्वयमा निःशुल्क खाना तथा आवासको व्यवस्था मिलाइएको छ।

बैठकले शवगृह व्यवस्थापनको जिम्मेवारी भरतपुर महानगरपालिकालाई, शव पहिचान तथा हस्तान्तरणको जिम्मेवारी प्रहरी नायब उपरीक्षक सुवास भट्टलाई दिएको छ।

खाजा तथा पानीको व्यवस्था रत्ननगर उद्योग वाणिज्य सङ्घ र सपना भिलेज तथा डेड बडी ब्यागको व्यवस्था नेपाल रेडक्रस सोसाइटी चितवनले गर्नेछ। स्वास्थ्य सामग्री मास्क, स्यानिटाइजर र पञ्जाको व्यवस्था सर्जिकल व्यवसायी सङ्घले गर्ने निर्णय भएको छ।

बाढी तथा विपद्का कारण राष्ट्रिय दुःखको अवस्था रहेकाले यस वर्षको हरितालिका तीज पर्व भड्किलो नगरी सादगीपूर्ण रूपमा मनाउन सर्वसाधारणलाई अपिल गरिएको छ।

साथै बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डरलगायत सरकारी वा व्यक्तिगत सामग्री फेला परेमा नजिकको सुरक्षा निकायमा बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।

प्रकाशित: ११ भाद्र २०८३ १३:४९ बिहीबार