समाज

सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाउने युवक सर्लाही प्रहरीको नियन्त्रणमा

सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक शान्ति, सुरक्षा तथा सामाजिक सद्भावमा प्रतिकूल असर पर्ने प्रकृतिका भ्रामक तथा झुटा सूचना प्रसारण गरेको आरोपमा सर्लाही प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार फेसबुक प्रोफाइल 'मुकेश कुमार यादव समर्थक' नामबाट भ्रामक भिडियो तथा समाचार सार्वजनिक गरेको सूचनापछि प्रहरीले अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा उक्त फेसबुक आईडी सञ्चालन गर्ने व्यक्ति सर्लाहीको धनकौल गाउँपालिका–२ निवासी ३० वर्षीय राम प्रवेश राय यादव रहेको खुलेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिई प्रयोग गरेको मोबाइलसमेत बरामद गरेको हो।

सोधपुछका क्रममा उनले आफ्नै फेसबुक आईडीमार्फत उक्त भ्रामक भिडियो तथा सूचना प्रसारण गरेको प्रहरी समक्ष स्वीकार गरेका छन्। यस्ता सामग्री सामाजिक सञ्जालमा प्रकाशन तथा प्रसारण गरी सर्वसाधारणमा भ्रम सिर्जना गर्ने, सार्वजनिक शान्ति–सुरक्षा तथा सुव्यवस्थामा प्रतिकूल असर पार्ने कार्य गरेको आरोपमा उनीमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीले सामाजिक सञ्जाल प्रयोग गर्दा अपुष्ट, झुटा वा भ्रामक सूचना साझा नगर्न तथा जिम्मेवार ढंगले डिजिटल माध्यमको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित: १५ श्रावण २०८३ ०८:४२ शुक्रबार