रोल्पाको थवाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। पहिरोले कमलबहादुर पुन मगरको घरसहित अरू आधा दर्जन घरगोठ पुरिँदा मृत्यु हुनेको संख्या तीन पुगेको हो।
रोल्पा प्रहरी प्रमुख डिएसपी पञ्चकुमार बाखुका अनुसार बिहान ७ बजेपछि ७१ वर्षीया वृद्धालाई मृत अवस्थामा पहिरोबाट निकालिएको छ। त्यसअघि १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगर पनि मृत भेटिएको थियो।
पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सन्जय घर्ती मगर घाइते छन्। उनीहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर पठाइएको डिएसपी प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए।
क्षेत्रीका अनुसार पहिरोमा परी अझै १० जना बेपत्ता छन्। पहिरो पन्छाएर उनीहरुको खोजी भइरहेको छ। बुधबार बेलुकी पौने ९ बजेतिर गाउँमाथिको डाँडोबाट पहिरो खसेपछि कमलबहादुरको घर लगायत आधा दर्जन घरगोठ पुरिएको थियो।
घटनापछि इलाका प्रहरी कार्यालय उवाबाट परिचालन भएको प्रहरी र स्थानीयले रातिदेखि उद्धार सुरु गरेका थिए भने सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, प्रहरी प्रमुख डिएसपी पंचकुमार बाखु, नेपाली सेनाका कर्णेल दिपेश खड्का, सशस्त्र डिएसपी कालिप्रशाद चौधरीसहितको उद्धार टोली घटनास्थल पुगेको छ।
यसैबिच, सुनिलस्मृति गाउँपालिकास्थित लाम्पा खोलामा एक व्यक्तिको खुट्टाको पाईताला भेटिएको छ। सुनिलस्मृति गाउँपालिका अध्यक्ष मनिराम बुढाथोकीले उक्त खुट्टा थवाङ पहिरोमा परेका व्यक्तिको हुन सक्ने बताए।
प्रकाशित: २८ श्रावण २०८३ ०९:५० बिहीबार