समाज

जलमग्न उपत्यका, दुर्घटनाको जोखिम उस्तै

लगातारको वर्षापछि काठमाडौं उपत्यकाका विभिन्न सडक जलमग्न भएका छन्।

ट्राफिक प्रहरीले सडक जलमग्न हुँदा सवारीसाधन आवतजावतमा असर पुगेको जानकारी दिएको छ। ट्राफिक प्रहरीले पानी जमेका सडकमा विशेष सतर्कताका साथ सवारी चलाउन चालकलाई आग्रह गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले ट्राफिक व्यवस्थापन सामान्य रहे पनि सडकमा पानी जम्दा दुर्घटनाको जोखिम बढेको बताए।

उनका अनुसार सडकमा पानी जमेपछि सवारीसाधन एउटै लेनबाट आवतजावत गर्नुपर्ने अवस्था सिर्जना हुँदा दुर्घटनाको सम्भावना बढ्ने गरेको छ।

‘अहिले ट्राफिक व्यवस्थापन सहज हुँदै गएको छ। आज सार्वजनिक बिदाको दिन भएर पनि सजिलो भयो। तर, सडकमा पानी जम्दा दुर्घटनाको जोखिम भने बढिरहेको छ। एउटै लेनबाट सवारी सञ्चालन गर्नुपर्ने भएकाले थप सावधानी अपनाउनुपर्ने अवस्था छ”, उनले भने।

सुवेदीले वर्षाका कारण आज साँझ पनि माइतीघर, अनामनगरलगायत उपत्यकाका विभिन्न क्षेत्रमा सडक जलमग्न भएको जानकारी दिँदै दीर्घकालीन रूपमा प्रभावकारी ढल तथा पानी निकास व्यवस्थापन आवश्यक रहेको बताए।

वर्षायाममा पानी जमेका सडकमा तीव्र गतिमा सवारी नचलाउन, सुरक्षित दूरी कायम गर्न तथा ट्राफिक प्रहरीको निर्देशन पालना गर्न सुवेदीको आग्रह छ।

प्रकाशित: ३ श्रावण २०८३ १९:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App