पछिल्लो झरीका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी-दरवाङ सडक मर्मत थालिएको छ।
गण्डकी प्रदेश सरकार मातहत रहेको धवलागिरि, मालिका, मंगला र बागलुङको तमानखोला गाउँपालिका जोड्ने बेनी-दरवाङ-मुना सडकको विभिन्न ठाउँमा पहिरो र बाढीले क्षति गरेर अवरुद्ध बनेको छ।
पूर्वाधार विकास कार्यालयमार्फत उपकरण परिचालन गरेर आइतबार अपराह्नदेखि बेनीदेखि पहिरो पन्छाउने काम थालिएको म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले जानकारी दिए।
‘पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहतका साथै जनजीवनलाई सहज बनाउनका लागि मुख्यमन्त्री र भौतिक मन्त्रालयसँग समन्वय गरेर जति सक्दो छिटो सडकमा यातायात सञ्चालनका लागि जुटेका छौँ,’ उनले भने, ‘बेनीदेखि तातोपानीसम्म आठ किलोमिटर सडकमा आइतबार साँझदेखि यातायात सुचारु भएको छ।’
सोमबार बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमाना फापरखेत, मंगला, मालिका र धवलागिरि गाउँपालिकामा खण्ड÷खण्डमा त्यहाँ उपलब्ध भएका उपकरणहरू परिचालन गरेर सडक मर्मतको कामलाई तीव्रता दिन आफैँ स्थलगत रूपमा खटिएको उनको भनाइ छ।
स्थानीय तह, प्रदेश र संघीय सरकारले आ-आफ्ना मातहत रहेका सडकहरूलाई मर्मत गरेर जति सक्दो छिटो यातायात सञ्चालनको व्यवस्था मिलाउने जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार तीनै तहका जनप्रतिनिधि र निकायसँग समन्वय गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिए।
पछिल्लो समय रसुवा बाढीपछि चीनसँगको मुख्य व्यापारिक नाका कोरला नाका जोड्ने बेनी-जोमसोम-कोरला सडकको तिल्केनीचौरमा कालीगण्डकीले सडक कटान, पोखरेबगरमा सडक पुलको पहुँच मार्ग र खाम भित्तामा कटान गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
थप क्षतिको विवरण बुझेर सडक मर्मतको काम अघि बढाउन संघीय सरकार मातहतको सडक विभागसँग समन्वय गरिएको प्रजिअ गैरेले बताउनुभयो। बेनी-जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको यातायात सम्पर्क विच्छेद भएको छ।
कोरला नाकाबाट हुने आयात निर्यात प्रभावित भएको छ। मुस्ताङबाट स्याउ र च्याङ्ग्रा बिक्रीका लागि बजार पठाउन समस्या भएको छ। सोह्र श्राद्धमा कागबेनीमा हिन्दु धर्मावलम्बीहरूले पितृ तर्पण दिने गर्छन्। शरद् याम पर्यटकको याम पनि हो। रासस
प्रकाशित: १२ आश्विन २०८३ १०:३६ सोमबार



