गत आर्थिक वर्ष (२०८१/८२) अन्नपूर्ण क्षेत्रमा लेक लागेर १८ जना पर्यटकले ज्यान गुमाए। आर्थिक वर्ष (२०८०/८१) मा लेक लागेर अन्नपूर्ण क्षेत्रामा ज्यन गुमाउने पर्यटकको संख्या २० थियो। यातायातको पहुँच बिस्तार भएसँगै उच्च हिमाली भेगमा छोटो समयमा उक्लिँदा पर्यटकले ज्यानै गुमाउनु परेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बताएको छ।
एक्यापका अनुसार आर्थिक वर्ष २०८०/८१ मा लेक लागेर ज्यान गुमाएका २० जना मध्ये नेपाली ५, भारतीय ११, बेलायत र युक्रेनका १–१ तथा मलेशियाका २ जना पर्यटक थिए। त्यसैगरि आर्थिक वर्ष (२०८१/८२) मा लेक लागेर ज्यान गुमाएका १८ मध्ये नेपाली ६, भारतीय ८, अमेरिका, कोरिया, जर्मन र स्वीजरल्याण्डका १–१ जना ले ज्यान गुमाएका थिए। एक्याप प्रमुख रविन कडरियाका अनुसार छोटो समयमा हतारको यात्राले पर्यटकलाई लेक लाग्ने जोखिम बढेको छ।
‘पर्यटकलाई बिहान पोखराबाट लगेर दिउँसो मुक्तिनाथ दर्शन गराएर बेलुकी पोखरा फिर्ता ल्याउने गरि हतारको यात्रा गराइन्छ,’ कडरियाले भने, ‘होचों ठाउँमा बसेका पर्यटकलाई एकैपटक उच्च भेगमा उकाल्दा उनीहरुको शरिरले त्यहाँको उचाईसँग मेल खान सक्दैन, जसले गर्दा ज्यानै जानेसम्मका घटना हुने गरेका छन।’
पर्यटकलाई हतारको यात्रा नगरी मुस्ताङ गएका पर्यटकले कम्तिमा एकदिन मुस्ताङको जोमसोम तथा मनाङ जानेहरु मनाङको मनाङ गाउँमा बस्नुपर्ने कडरियाको सुझाव छ। तर, कतिपय पर्यटक हतार गरेर पोखराबाट बिहान सबेरै डिडेर दिउँसो मुक्तिनाथ पुगिसक्छन। त्यस्तै मनाङतिर पनि तिचिलो यात्रामा जाने पर्यटकले यात्रालाई कम समयमा पुरा गर्नेगरि माथिल्लो भेगसम्म उक्लिदा जोखिम निम्तिने गरेको उनले बताए। ‘ढिला गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न,’ उनले भने।
‘मुस्ताङको जोमसोम र मुनाङको मनाङ गाउँमा कम्तिमा एकरात आराम गरेर त्यसभन्दा माथिको यात्रा गर्ने हो भने यो समस्या केही कम हुन्छ। अहिले गाडीको यात्राले गर्दा यस्तो अवस्था आएको हो,’ उनले भने, ‘मोटरबाटो बिस्तार हुनुअघि यस्तो समस्या कम थियो। किनभने पर्यटकले हिडेरै पदयात्रा पुरा गर्दथे। अहिले गाडी गुड्ने सडकमा त्यो बेला पैदल हिडेर पुरा गर्दा लेक लाग्ने जोखिम कम हुन्थ्यो।’
एक्यापका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी भारतीय छन। ती भारतीयले मुस्ताङमै ज्यान गुमाएका हुन। भारतीय पर्यटक मुक्तिनाथ दर्शन गर्न जाने र उनीहरुमध्ये पनि अधिकांश वृद्धवृद्धा भएकोले पनि जोखिम बढी रहेको कडरियाले बताए। ‘आफ्नो स्वास्थ्यको अवस्था कस्तो छ भन्ने पहिचान गरेर मात्र उच्च भेगमा उक्लनुपर्छ। स्वास्थ्यमा समस्या भएमा यात्रा रोक्नुपर्ने हुन्छ,’ उनले भने, ‘व्यावसायीले पनि हतारको यात्रा नगराउने हो भने यो समस्या कम भईहाल्छ।
कतिपय पर्यटन व्यावसायीले पोखराबाट बिहान सबेरै पर्यटकलाई लिएर जोमसोम उकाल्ने र मुक्तिनाथ दर्शन गराउने र बेलुकी पोखरा फिर्ता ल्याउने गरि हतारको यात्रा गर्दा समस्या थपिएको उनको भनाई छ। समुन्द्री सतहको २५ सय मिटर भन्दा माथिल्लो क्षेत्रमा उक्लिदा लेक लाग्ने जोखिम हुनसक्ने पनि उनले बताए। मुक्तिनाथ ३ हजार ७ सय १०, तिलिचो ४ हजार ९ सय १९ र थोराङला भञ्ज्याङ ५ हजार ४ सय १६ मिटर उचाईमा पर्छ।
यसैबीच होटल संघ गण्डकीले होचो उचाइबाट छोटो अवधिमा नै पर्यटकलाई हिमाली क्षेत्रमा पुर्याउने गरी यात्रामा संलग्न नगराउन सरोकारवालासँग अपिल गरेको छ। खासगरी नेपालको सिमावर्ती तराई क्षेत्रबाट एकै दिनमा अन्नपूर्ण क्षेत्रका अग्ला गन्तव्यसम्म पर्यटकलाई पुर्याउँदा लेक लाग्ने लगायतका जोखिम बढेको संघले विज्ञप्ति जारी गरी जनाएको छ।
संघका गण्डकी अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जारी गरेको विज्ञप्तिमा पर्यटकलाई आराम गर्दै वातानुकूल हुँदै यात्रा गर्ने वातावरणका लागि सम्वन्धित ट्राभल एजेन्सी, टुर अपरेटर र सरोकारवालासमक्ष अपिल गरिएको छ।
‘आफ्नै सवारी लिएर सानो समूहमा यात्रा गर्ने पर्यटकलाई समेत यस्तो जोखिमपूर्ण यात्राको प्रवृत्ति नअपनाउन हामी सुझाव दिन चाहन्छौं। यस्तो जोखिमपूर्ण प्रवृत्तिलाई न्यूनिकरण गर्न सरकारीस्तरबाट समेत आवश्यक पहल अगाडि बढाउन अनुरोध छ। यसले पर्यटकको सुरक्षाका अतिरिक्त पोखरामा पर्यटकको बसाई अवधि लम्ब्याउन समेत मद्दत पुग्नेछ,’ संघको अपिलमा भनिएको छ।
पर्यटनको राजधानी पोखरा हुँदै दैनिक हजारौं पर्यटक विभिन्न ठाउँमा आउने जाने गर्छन। अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने पर्यटकको पोखराबाटै मुख्य यात्रा सुरु हुन्छ। पर्यटनको सन्दर्भमा मानव स्वास्थ्य र सुरक्षा निकै नै महत्वपूर्ण हुने शर्माले बताए। पछिल्ला दिनमा नेपालको दक्षिण सिमावर्ती क्षेत्र र तराइबाट पोखरा हुँदै एकै दिनमा मुक्तिनाथ पुगेर पोखरा फर्कने पर्यटकको ठूलै संख्या भेटिन थालेको संघले बताएको छ।
‘समुन्द्र सतहबाट एकसय मिटर हाराहारीको उचाईको तराई क्षेत्रबाट आठ सय मिटर उचाईको पोखरा उक्लिएर उही दिन ३ हजार ७ सय १० मिटर उचाईको मुक्तिनाथ क्षेत्र पुग्नु मानव स्वास्थ्यको लागि निकै नकारात्मक कुरा हो,’ संघका अध्यक्ष शर्माले भनेका छन, ‘होचो उचाईबाट एकैदिन एकतर्फी साढे तीन सय किलोमिटर भन्दा लामो अनि उचाईतिरको यात्रा पर्यटकका लागि अत्यन्त खतरनाक र धपेडीपूर्ण मात्र नभई रात्री समयको कुँदाई अन्यन्त जोखिमयुक्त पनि हुन सक्छ।’ यस्तो कार्यले एकातिर पर्यटकलाई लेक लागेर ज्यानै जान सक्ने जोखिम बढाएको छ भने अर्कातिर पर्यटन क्षेत्रप्रति अन्तर्राष्ट्रिय रुपमा नकारात्मक सन्देश जाने खतरातर्फ पनि संघले सचेत गराएको छ।
प्रकाशित: २४ श्रावण २०८२ १५:३३ शनिबार



