प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछिको खोजी, उद्धार, उपचार तथा राहत वितरण कार्यलाई सरकारले पूर्ण क्षमताका साथ अहोरात्र अघि बढाइरहेको दावी गरेका छन् ।
शनिबार साँझ सामाजिक सञ्जालमार्फत विस्तृत विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता रहेको बताएका हुन्।
प्रधानमन्त्री शाहका अनुसार बाढी प्रभावित क्षेत्रमा हालसम्म भएका उद्धार, स्वास्थ्य उपचार, नागरिक व्यवस्थापन, राहत कोष, सञ्चार तथा सडक पुनःस्थापनाको अद्यावधिक विवरण यस प्रकार छ।
खोजी तथा उद्धार : ७,५१४ जनाको जीवितै उद्धार
प्रतिकूल मौसम र जटिल भौगोलिक चुनौतीका बाबजुद शनिबार साँझ साढे ५ बजेसम्म ७ हजार ५१४ जनालाई हवाई तथा स्थलमार्गबाट सकुशल उद्धार गरिएको छ।
यसमध्ये विभिन्न जलविद्युत् आयोजनामा फसेका २७९ जना रहेका छन्। उद्धार कार्यमा नेपाली सेनासँगको समन्वयमा भारतीय र चिनियाँ विज्ञहरू समेत परिचालित छन्।
उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका १६ वटा हेलिकप्टरमार्फत हालसम्म २३६ वटा उडान भरिएको छ।
कार्यक्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी १८ हजार ७०८ जना सुरक्षाकर्मी खटिएका छन्। जोखिम मोलेर खटिएका सुरक्षाकर्मीहरूको मनोबल उच्च राख्न सरकारले दैनिक खाजा खर्च र प्रोत्साहन भत्ता वृद्धि गर्ने निर्णय गरेको छ।
स्वास्थ्य उपचार, मोबाइल अस्पताल र ‘रक्त सूचना पोर्टल’
गम्भीर घाइतेहरूलाई काठमाडौंका विभिन्न अस्पतालमा ल्याएर उपचार भइरहेको छ। रसुवाको धुन्चे र नुवाकोटको बट्टारस्थित सेनाको ब्यारेकमा मोबाइल अस्पताल खडा गरी काठमाडौंबाट गएको विशेषज्ञ टोलीले उपचार सेवा दिइरहेको छ।
चिकित्सक टोलीले धुन्चे, स्याफ्रुबेँसी, रसुवा अस्पताल तथा हेलिप्याड क्षेत्रसहित ५ स्थानबाट स्वास्थ्य सेवा र मनोपरामर्श प्रदान गरिरहेको छ। अस्पतालहरूमा रगतको सहज व्यवस्थापनका लागि सरकारले ‘रक्त सूचना पोर्टल’ सञ्चालनमा ल्याएको छ, जसबाट कुन अस्पतालमा कति रगत उपलब्ध छ भन्ने जानकारी पारदर्शी रूपमा हेर्न सकिन्छ।
नागरिक व्यवस्थापन र अस्थायी आवास
बाढीबाट विस्थापित करिब ३,५०० नागरिकलाई विद्यालय तथा सामुदायिक भवनहरूमा अस्थायी आवासको व्यवस्था मिलाइएको छ। रसुवामा ३ र नुवाकोटमा १५ वटा राहत शिविर स्थापना गरी संघीय सरकार, नेपाल रेडक्रस, नेपाल स्काउट तथा लायन्स क्लबमार्फत राहत सामग्री वितरण भइरहेको छ।
यसैगरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कोषबाट ५ जिल्लाका १५ स्थानीय तहलाई अत्यावश्यक सेवा सञ्चालनका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिसकिएको छ।
राहत संकलन: ५ अर्ब ४ करोडभन्दा बढी रकम जम्मा
प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा आर्थिक सहयोग जुटाउन ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरिएको छ।
शनिबार मध्याह्नसम्म ९ वटा वाणिज्य बैंकका खाताहरूमा ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ तथा हिमालयन र लक्ष्मी बैंकको खातामा थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर जम्मा भएको छ।
वित्तीय ठगीबाट बच्न सरकारको आधिकारिक क्युआर कोड र तोकिएको खातामा मात्र रकम जम्मा गर्न आग्रह गरिएको छ। त्रिभुवन विमानस्थल, काठमाडौं जिल्ला प्रशासन, सामाखुसीस्थित विपद् तालिम केन्द्र र बबरमहलमा संकलित राहत सामग्री एमआई–१७ हेलिकप्टर र सडकमार्गमार्फत नुवाकोटको बट्टार, धादिङको बैरेनी तथा रसुवाको धुन्चे र उत्तरगयामा पुर्याई वितरण भइरहेको छ।
सञ्चार तथा वैकल्पिक सडक सञ्जाल
बाढीले नेपाल टेलिकमका ३८ र एनसेलका २७ वटा टावर अवरुद्ध बनाएकोमा इन्धन, सोलार र जेनेरेटर ढुवानी गरी टेलिकमका ९० र एनसेलका ७१ वटा टावर पुनः सञ्चालनमा ल्याइसकिएको छ।
सडकतर्फ, काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क–बोगटीटार–कालिकास्थान हुँदै धुन्चे जोड्ने सडक मर्मत गरी साना चारपाङ्ग्रे सवारीका लागि खुलाइएको छ।
यस्तै, पृथ्वी राजमार्गको गल्छी–मलेखु खण्डको लेदो पन्छाएर यातायात सुचारु गरिएको छ भने परेवाटार–नेपालटार–गजुरीटार हुँदै धादिङबेँसी जोड्ने वैकल्पिक सडक पनि सञ्चालनमा आएको छ।
६७५ शव फेला, डीएनए सुरक्षित राखेर वैज्ञानिक व्यवस्थापन
हालसम्म विभिन्न ८ जिल्लामा ६७५ वटा शव फेला परेका छन्। फेला परेका शवलाई ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०८३’ बमोजिम ‘एयर टाइट ब्याग’ मा राखेर वैज्ञानिक विधिबाट व्यवस्थापन गरिँदै छ।
पहिचान खुल्न नसकेका शवहरूको डीएनए नमुना सुरक्षित राखिएको र परिवारले पहिचान गरेका शवहरू सम्बन्धित आफन्तलाई जिम्मा लगाउने कार्य भइरहेको छ।
प्रधानमन्त्री शाहले विपद्को यस कठिन घडीमा धैर्य र ऐक्यबद्धता देखाउनुहुने सबै नागरिक, सुरक्षाकर्मी, राष्ट्रसेवक तथा स्वयंसेवीहरूप्रति आभार व्यक्त गर्दै उद्धार र पुनःस्थापनाको नतिजा नआएसम्म सरकार निरन्तर जनताको साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रकाशित: १३ भाद्र २०८३ १९:५५ शनिबार