समाज

भक्तपुरमा सहकारी ठगी आरोपितको सिफारिस रोक्का, बचत फिर्ता गर्ने लिखित सहमति

भक्तपुर नगरपालिका वडा नं. ६ भुलाछेंले सहकारी ठगीको आरोप लागेका एक व्यक्तिको सिफारिस सेवा अस्थायी रूपमा रोक्का गरेको छ।

वडाका अनुसार सोही वडामा बस्ने कृतन प्रजापतिले सहकारीमा जम्मा गरिएको बचत रकम फिर्ता नदिएको उजुरी परेपछि उनको नाता प्रमाणित सिफारिस ६ महिनाका लागि रोक्का गरिएको हो।

वडा अध्यक्ष हरिराम सुवालका अनुसार वडाबासीहरूले सहकारीमा जम्मा गरेको रकम नपाएको भन्दै वडा कार्यालयमा उजुरी दिएपछि प्रजापतिसम्बन्धी सेवा अस्थायी रूपमा रोकिएको हो। उनले ६ महिनाभित्र बचत रकम फिर्ता गर्ने सहमति गरेपछि मात्रै वडाबाट दिइने सेवा पुनः सुचारु गरिने जानकारी दिए।

घटनाअनुसार प्रजापति बिहीबार नाता प्रमाणित गर्न वडा कार्यालय पुगेका थिए। सो विषयमा छलफल गर्नुपर्ने भन्दै तत्काल सिफारिस नदिएको अवस्थामा सहकारी प्रकरणसँग असम्बन्धित विषय उठाएर वडा अध्यक्षले दादागिरी गरेको आरोप लगाउँदै प्रजापतिका पक्षधरले वडामा भएको छलफलको भिडियो सार्वजनिक गरेका थिए।

शुक्रबार पुनः प्रजापति समूहसहित वडामा पुगेपछि पीडित वडाबासीहरू पनि वडा कार्यालयमा जम्मा भएका थिए। सहकारी बचत नफर्काएको आरोप लागेका व्यक्तिलाई सार्वजनिक रूपमा बचत फिर्ता गर्न दबाब दिँदै पीडितहरूले घेराबन्दी गरेका थिए।

दिनभरको छलफलपछि प्रहरीको रोहबरमा आइतबारभित्र प्रत्येक बचतकर्तालाई १०–१० हजार रुपैयाँ फिर्ता गर्ने र ६ महिनाभित्र सबै रकम फिर्ता गर्ने लिखित सहमति भएको बताइएको छ।

सहमति भएपछि प्रजापतिलाई सार्वजनिक रूपमा माफी माग्न लगाइएको थियो। त्यसपछि दिनभर वडा कार्यालयमा रोकेर राखिएका उनलाई साँझ मात्रै छोडिएको वडा कार्यालयले जनाएको छ।

स्थानीय पीडित राजुसिंह बजिकोका अनुसार प्रजापतिले उनको परिवारको मात्रै करिब १५ लाख रुपैयाँ बचत रकम फिर्ता दिएका छैनन्। उनले सहकारी ठगी गर्ने व्यक्तिलाई सरकारी सेवा रोक्का गर्ने व्यवस्था भए पीडितहरूको रकम फिर्ता गराउन सजिलो हुने धारणा व्यक्त गरे।

प्रकाशित: २९ फाल्गुन २०८२ १९:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App