रसुवाको आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको अपडेट अनुसार बाढीमा परी हालसम्म ६७५ जनाको शव फेला परेको छ।
प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५१, धादिङमा ४५, गोरखामा ५७, नवलपरासी पूर्वमा १६५, नवलपरासी पश्चिममा ६३, तनहुँमा ३५ र चितवनमा २४६ जनाको शव फेला परेको छ।
बाढीपछि २ हजार ४८५ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। जलविद्युत् आयोजनामा कार्यरत १३३ जना, मकवानपुरका ६४ जना तथा सम्पर्कविहीन विदेशी नागरिक ५८९ जना रहेको विवरणमा उल्लेख छ। त्यस्तै, विदेश भ्रमणमा गएका नेपालीमध्ये १२७ जना र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना पनि सम्पर्कविहीन रहेको जनाइएको छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। सुरक्षा निकायसहित विभिन्न टोली परिचालन गरिएको छ। नेपाली प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल गरी ठूलो संख्यामा सुरक्षाकर्मी उद्धार तथा राहतमा खटिएका छन्।
प्राधिकरणका अनुसार हेलिकप्टरमार्फत पनि उद्धार कार्य जारी छ। जलविद्युत् आयोजनाबाट हिजो २१९ जना र आज ५८ जना गरी ठूलो संख्यामा प्रभावितको उद्धार गरिएको उल्लेख छ। विदेशी नागरिकको उद्धारका लागि पनि हेलिकप्टर परिचालन गरिएको छ।
सरकारले बाढी प्रभावित जिल्लामा नगद राहत उपलब्ध गराउनुका साथै खाद्यान्न तथा गैरखाद्य सामग्री वितरण गरिरहेको छ। प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्न सर्जिकल मेडिकल टोलीसहित स्वास्थ्यकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

प्रकाशित: १३ भाद्र २०८३ २१:३८ शनिबार