समाज

रसुवा बाढी : ६३ जुम्लेली सम्पर्कविहीन, खोजी तीव्र पार्न माग

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा  भदौ १० गते आएको भीषण बाढीमा रोजगारीका लागि रसुवा पुगेका जुम्लाका ६३ नागरिक अझै सम्पर्कविहीन छन्।

उनीहरूको तत्काल खोजी तथा उद्धार गर्न गैरसरकारी संस्था महासंघ (गैसस महासंघ) जुम्लाले सरकारसँग माग गरेको छ। गैसस महासंघ जुम्लाका अध्यक्ष टेकबहादुर रावतको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईलाई प्रेस नोट बुझाउँदै बेपत्ता जुम्लेलीको खोजीलाई राज्यले उच्च प्राथमिकतामा राख्न माग गरेको हो।

रोजगारीका लागि रसुवा पुगेका जुम्लाका ९३ मध्ये ३० जनाको उद्धार भएको छ। तर ६३ जनाको अवस्था अझै अज्ञात रहेको महासंघले जनाएको छ। सम्पर्कविहीनमध्ये पातारासी गाउँपालिकाका ४९, गुठीचौरका नौ, चन्दननाथ नगरपालिकाका चार र सिंजा गाउँपालिकाका एक जना छन्।

महासंघले बाढीमा बेपत्ता जुम्लेलीको खोजीका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न माग गरेको छ। उद्धार भएर फर्किएका व्यक्तिको अवस्था गम्भीर रहेको भन्दै घाइते तथा बिरामीको तत्काल उद्धार गरी निःशुल्क उपचारको व्यवस्था गर्नसमेत आग्रह गरिएको छ। बेपत्ता नागरिकका परिवार मानसिक तनावमा रहेको भन्दै उनीहरूलाई मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउन महासंघले माग गरेको छ।

साथै, प्रत्यक्ष प्रभावित परिवारका लागि स्थानीय, प्रदेश र संघीय सरकारबाट विशेष राहत प्याकेज घोषणा गर्नुपर्ने जनाएको छ। बेपत्ता नागरिकका आश्रित परिवार तथा बालबालिकाको संरक्षणका लागि शिक्षामा विशेष छात्रवृत्ति, परिवारका एक सदस्यलाई रोजगारी र जीविकोपार्जनका लागि आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने माग पनि महासंघले अघि सारेको छ।

प्रेस नोट बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रसाईले बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि सरकार दिनरात खटिरहेको बताए। ‘खोजी तथा उद्धारका लागि सरकार दिनरात खटिएको छ। हामी पनि सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेका छौं,’ उनले भने, ‘राहत र सहयोगका लागि सबै सहयोगी हातहरूको हातेमालो जरुरी छ।’

भोटेकोशी बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै महासंघले शोकाकुल परिवारमा समवेदना व्यक्त गरेको छ। बाढीपीडितको खोजी, उद्धार, उपचार र पुनःस्थापनामा राज्यले ढिलाइ नगर्न पनि आग्रह गरेको छ।

गैसस महासंघ जुम्लाका तर्फबाट तयार गरिएको प्रेस नोट पेस नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेले पढेर प्रमुख जिल्ला अधिकारी प्रसाईलाई बुझाएका थिए।

प्रकाशित: २६ भाद्र २०८३ ०८:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App