समाज

आज काठमाडौंसहित केही जिल्लामा वर्षा, भोलिको मौसम कस्तो रहला ?

पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण आज काठमाडौंलगायत केही जिल्लामा वर्षा भएको छ।

काठमाडौंमा पछिल्लो एक घण्टामै एक दशमलव दुई मिलिमिटर वर्षा भएको छ भने अन्य केही जिल्लामा पनि हल्का वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार केही जिल्लामा असिनापानी, हिमपात र हुरीबताससमेत आएको छ।

विभिन्न जिल्लाको वर्षामापन केन्द्रबाट प्राप्त विवरणअनुसार पछिल्लो एक घण्टामा सबैभन्दा बढी झापामा नौ दशमलव चार मिलिमिटर वर्षा भएको छ।

यस्तै, ताप्लेजुङ, भोजपुर, नुवाकोट, लमजुङ, गोरखा, कास्की र कालीकोटमा हल्का वर्षा भइरहेको छ। पछिल्लो तीन घण्टामा तनहुँमा २४ दशमलव छ र झापामा १२ दशमलव दुई मिलिमिटर वर्षा भएको छ।

मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार कोशी प्रदेशलगायत देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बादल लागेको छ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षा-हिमपात भइरहेको विभागले आज साँझ ६ः०० बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

विभागका अनुसार बुधबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्ने छ। यस्तै, तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ।  

कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै स्थानहरू तथा बाँकी प्रदेशको पहाडी र हिमाली भागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको जनाइएको छ । 

प्रकाशित: १० चैत्र २०८२ २१:०२ मंगलबार