कपिलवस्तुमा तीन दिनदेखि लगाइएको निषेधाज्ञा हटाइएको छ।
जिल्ला प्रशासन कार्यालयले मंगलवार बिहान नौ बजेदेखि निषेधाज्ञा हटाएको सूचना जारी गरेको हो।
महाराजगन्ज नगरपालिका, वडा नं. २ को बर्गदा गाउँमा शनिबार बिहान दुई समुदायबिच भएको विवादले उग्र रूप लिँदै अशान्त बनेपछि दिउँसो २ बजेदेखि महाराजगन्ज नगरपालिकाको विभिन्न क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको थियो।
अवस्था सहज हुँदै गएपछि शान्ति सुरक्षाको अवस्था सामान्यीकरण गर्दै नागरिकको जीवनयापन सहज बनाउन निषेधाज्ञा आदेश हटाइएको सहायक प्रमुख जिल्ला अधिकारी भबिश्वर घिमिरेले बताए। महाराजगन्ज नगरपालिकाको क्षेत्रमा शनिबार दिउँसो दुई बजेदेखि र कपिलवस्तु नगरपालिका, मायादेवी र शुद्धोदन गाउँपालिकाका क्षेत्रमा आइतबार दिउँसो १ बजेबाट भेला, सभा, जुलुस र प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको थियो।
गत चैत ७ गते जिल्लाको महाराजगन्ज नगरपालिका-२, बर्दगा गाउँमा दुई समुदायबिच विवाद हुँदा जिल्लाको दक्षिणी क्षेत्र अशान्त बनेको थियो। सोमबार साँझदेखि जिल्लाको अवस्था सामान्य बन्दै गएपछि जनजीवन सहज बनेको छ।
मन्दिर तोडफोड गर्ने ६ जनाविरुद्ध मुद्दा
कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नम्बर २ बर्गदा स्थित काली मन्दिरमा तोडफोड गरेको आरोपमा पक्राउ परेका ६ जनामाथि मुद्दा चलाइएको छ । स्थानीय सलमान खा पठान, मेहतान अहमद धुनिया, अब्दुल अख्तर खा, अजमत अली मुसलमान, राहत हुसेन मुसलमान, माहोम्मद हुसेन मुसलमानमाथी मुद्दा चलाइएको हो। प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले पक्राउ परेका ६ जनामाथि मुद्दा चलाएर कानुनी प्रक्रिया अघि बढाइएको बताए।
प्रकाशित: १० चैत्र २०८२ १२:३४ मंगलबार



