भक्तपुरमा रात्रिकालीन साझा यातायात बस सेवा सञ्चालन गर्ने विषयमा सोमबार छलफल भएको छ। काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलसहितको टोली त्यसका लागि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँंग भेटघाटका लागि आएकी थिइन् ।
त्यस अवसरमा कार्यवाहक प्रमुख डंगालले सहरलाई सुरक्षित बनाउन सार्वजनिक यातायातलाई व्यवस्थित गर्न आवश्यक रहेको बताइन् । साझा यातायात रात्रिकालीन बस सेवा सञ्चालनका लागि स्थानीय तहहरूबीच समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
निजी यातायातको खर्च महँगो हुँदै गएको अवस्थामा रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन भएमा सर्वसाधारणलाई सहज हुने कार्यवाहक प्रमुख डंगोलले बताइन् । सेवा निःशुल्क सञ्चालन गर्ने विषयमा भने स्थानीय तहबीच संयुक्त स्वामित्व आवश्यक रहेको उनको धारणा थियो ।
भेटघाटमा साझा यातायात सञ्चालक समितिका अध्यक्ष सुशिल प्याकुरेलले रात्रीकालीन साझा यातायात सेवा सञ्चालन गर्दा रात्री व्यवसाय सञ्चालन गर्ने व्यवसायी, बिरामी तथा आन्तरिक पर्यटकलाई सहज हुने बताए । उनका अनुसार रात्रीकालीन सेवा राति ८ बजेदेखि १२ बजेसम्म सञ्चालन गर्ने योजना छ । रात्रीकालीन सेवामा विद्युतीय बस सञ्चालन गर्ने तयारी रहेको जानकारी दिँदै अध्यक्ष प्याकुरेलले दिवाकालीन सेवासमेत विस्तार गर्ने योजना रहेको बताए ।
साझा यातायातका कार्यकारी निर्देशक भुपेन्द्र अर्यालले साझा यातायातको सञ्चालन तथा सेवा विस्तारका विषयमा जानकारी गराए । उनले नेपाल सरकारले साझा यातायातमा ३ अर्ब रुपैयाँ शेयर लगानी गरेको तथा काठमाडौं महानगरपालिकाले १५ करोड रुपैयाँ बराबरको शेयर लगानी गरेको जानकारी दिँदै साझा यातायातको नियमित तथा रात्रिकालीन सञ्चालनले आर्थिक गतिविधि बढाउनुका साथै निजी तथा सरकारी क्षेत्रमा रात्रिकालीन ड्युटीमा खटिने कामदार तथा कर्मचारीहरूलाई समेत सहज हुने बताए । साझा यातायातको सेवा आगामी दिनमा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका र बूढानीलकण्ठ नगरपालिकालगायतका क्षेत्रमा विस्तार गर्ने योजना रहेको कार्यकारी अधिकृत अर्यालले जानकारी गराए । हाल १११ वटा बस साझा यातायातसँग रहेको पनि छलफलमा जानकारी गराइयो ।
भेटमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा विगतमा ट्रली बस सञ्चालन हुँदाको अनुभव स्मरण गर्दै सार्वजनिक यातायातलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताए । उनले नियोजित रूपमा ट्रली बसलाई समाप्त पारिएको बताउँदै सार्वजनिक यातायातको विस्तारलाई केवल नाफा–घाटाको दृष्टिले मात्र हेर्न नहुने धारणा राखे । एउटा विद्युतीय बस सञ्चालनले प्रदूषण, ट्राफिक जाम र सडकको चाप घटाउन सहयोग पुग्ने उनको भनाइ थियो । सरकारले विद्युतीय गाडीमा कर घटाएको भए नेपालको विद्युत खपत बढ्ने र पेट्रोलियम पदार्थको लागि ठूलो मात्रामा पैसा बाहिर नजाने भन्दै उनले कर बढाएर सरकार उल्टो बाटोमा हिँडेको आरोप लगाए ।
छलफलमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, वडाध्यक्ष श्यामकृष्ण खत्री, हरिराम सुवाल, काठमाडौं महानगरपालिकाका सचिवालय प्रमुख वसन्त आचार्य, प्रमुख प्रशाशकीय अधिकृत मुक्तिराम अर्याल, मेट्रो न्युजका सम्पादक चन्द्रमणि भट्टराई, साझा यातायातका शंकर बस्याललगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित: २९ भाद्र २०८३ १९:३२ सोमबार