पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचामा बिहीबार भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
सुन्दरहरैँचा नगरपालिका–५ मा बाँसबारीमा बिहीबार बिहान साढे १० बजेतिर भएको सवारी दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ भने अर्का १ जना गम्भीर घाइते भएको मोरङ प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मृत्यु हुनेमा सुन्दरहरैँचा–४ का १७ वर्षीय मौसम काफ्ले रहेको मोरङ प्रहरीका सूचना अधिकारी डिएसपी लीलाराज लामिछानेले जानकारी दिए ।
उनका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ ख ००३८ नम्बरको टिपर र पूर्वतर्फ जाँदै गरेको को २५ प ३४८४ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा काफ्लेको मृत्यु भएको छ ।
स्कुटरको पछाडि सवार रहेका काफ्ले दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । उपचारका लागि बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर स्कुटर चालक सुन्दरहरैँचा–५ का १६ वर्षीय अनुप चापागाईं गम्भीर घाइते भएको र उनको विराट शिक्षणमै उपचार भइरहेको डिएसपी लामिछानेले बताए ।
बालुवा लोड गरिएको टिपर र चालक सप्तरीको तिरहुत गाउँपालिका–२ का ५७ वर्षीय शिवनारायण खंगलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
प्रकाशित: ५ चैत्र २०८२ १३:४३ बिहीबार



