समाज

भाेटेकाेशी बाढी: पुनर्निर्माणमा नौ खर्ब!

भोटेकोसी बाढीले पुर्‍याएको क्षतिको पुनर्निर्माण गर्न ८ देखि ९ खर्ब रुपैयाँ हाराहारीमा खर्च लाग्ने विज्ञहरूले प्रारम्भिक हिसाब निकालेका छन्। बाढीपछि राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन भण्डारीको संयोजकत्वमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विस्तृत क्षति मूल्यांकन समिति गठन गरेको थियो।

उक्त समितिका संयोजक भण्डारीका अनुसार सोमबार उक्त समितिले सरोकारवाला निकायका प्रतिनिधिहरूलाई बोलाएर विस्तृत छलफल कार्यक्रम राखेको छ।

सोही छलफल कार्यक्रममा क्षतिको विस्तृत विवरण सार्वजनिक गर्ने तयारी भएको संयोजक भण्डारीले बताए। उनले भने, ‘सम्भवतः सोमबार हामीले क्षतिको विस्तृत विवरण सार्वजनिक गर्ने छौं। अहिले विवरण संकलन गर्ने काम करिबकरिब सकिएको छ।’

उनका अनुसार बाढीले निजी क्षेत्रसहित सरकारी, सार्वजनिक तथा पूर्वाधार क्षेत्रमा चार खर्बको हाराहारीमा क्षति पुर्‍याएको छ।

उक्त समितिका एक सदस्यले प्रारम्भिक अनुमानअनुसार भोटेकोसी बाढीले पुर्‍याएको क्षतिको तत्काल पुनर्निर्माण गर्न ८ देखि ९ खर्ब लाग्ने बताए। तर विपद्पछि आवश्यकता पहिचान गरी पुनर्निर्माण गर्न योभन्दा बढी खर्च लाग्ने छ। ‘८ देखि ९ खर्ब भनेको तत्काल पुनर्निर्माण गर्न लाग्ने खर्च हो। आवश्यकता पहिचान गरी दीर्घकालीन हिसाबमा लाग्ने खर्च अझ बढी हुन सक्छ,’ ती सदस्यले भने।

प्राधिकरण स्रोतका अनुसार समितिले तीन किसिमको क्षतिको विवरण तयार पारिरहेको छ। अहिलेको नोक्सानी र क्षति, तत्काल पुनर्निर्माण गर्न लाग्ने खर्च तथा दीर्घकालीन हिसाबमा आवश्यकता पहिचान गरी पुनर्निर्माण गर्न लाग्ने खर्चबारे अध्ययन भइरहेको छ।

सडक र पुलको पुनर्निर्माण गर्न ५० अर्ब लाग्ने

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार भोटेकोसी बाढीले पुल र सडकमा पुर्‍याएको क्षतिको पुनर्निर्माण गर्न करिब ५० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान छ। ‘हामीले गरेको प्रारम्भिक अध्ययनअनुसार भोटेकोसी बाढीले सडक र पुलमा मात्र ३० अर्बको नोक्सानी पुर्‍याएको छ,’ उनले भने, ‘विभागमातहतका ३१ वटा पुलको क्षति भएको छ। पुल, झोलुंगे पुल, प्रदेश सरकारमातहतका पुलसमेत जोड्ने हो भने भोटेकोसी बाढीले ४२ वटा पुलमा क्षति गरेको हाम्रो अनुमान छ।’ उनका अनुसार भोटेकोसी बाढीले ४० किलोमिटर बाटो पूर्ण रूपमा क्षति पुर्‍याएको छ। ‘भत्किएको बाटोको पुनर्निर्माणका लागि प्रक्रिया अघि बढाइसकेका छौं,’ उनले भने।

भवनको पुनर्निर्माण गर्न १० अर्ब खर्च लाग्ने

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहराका अनुसार भत्किएका भवनहरूको पुनर्निर्माण गर्न कम्तीमा १० अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान छ। त्यसमध्ये निजी क्षेत्रको भवनहरूको पुनर्निर्माण गर्न पाँच अर्ब र सरकारी, स्कुल तथा सार्वजनिक भवनको पुनर्निर्माण गर्न पाँच अर्ब रुपैयाँ खर्च हुने छ।

भोटेकोसी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका १५ स्थानीय तहमा सात हजार ५७० सरकारी, सार्वजनिक तथा निजी भवन भत्किएका छन्। ती भवनहरूको पुनर्निर्माण गर्न कम्तीमा १० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ।

विवरणअनुसार रसुवामा एक हजार ७७९ घर भत्किएका छन्। जसमा गोसाइँकुण्डमा एक हजार ४३, कालिकामा ११२, आमाछोदिङमोमा ५७ र उत्तरगयामा ५६७ गरी रसुवामा एक हजार ७७९ घर छन्।

यसैगरी नुवाकोटमा तीन हजार ९७७ घर भत्किएका छन्। जसमा बेलकोटगढीमा २१२, विदुरमा ३०३६, किस्पाङमा ६९६ र तारकेश्वरमा ४३ घर छन्। धादिङमा एक हजार ४५१ घर भत्किएका छन्। जसमा बेनीघाटमा १०३७, गजुरी १०७, गल्छी ७९ र सिदद्धलेकमा २२८ घर छन्। गोरखाको २६३ घर भत्किएकामा गण्डकीकमा २४८ र सहिद लखनमा १५ छन्। चितवनको इच्छामनकानमा १०० वटा घर भत्किएका छन्।

खानेपानीमा ६ करोड ४० लाखको क्षति

खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार भोटेकोसी बाढीले खानेपानी आयोजनातर्फ ६ करोड ४० लाख रुपैयाँ बराबर क्षति पुर्‍याएको छ। उक्त बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजनामा क्षति पुर्‍याएको छ। जसअनुसार रसुवामा आठ, नुवाकोटमा २२, धादिङमा २० र गोरखामा पाँच वटा खानेपानी आयोजनामा बाढीले क्षति पुर्‍याएको छ।

प्रकाशित: २२ भाद्र २०८३ १०:४१ सोमबार