भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्कको पहिलो चरणको पुनःस्थापना कार्य सम्पन्न भएको छ।
बाढीका कारण रसुवागढी र बेत्रावतीमा एक–एक वटा अप्टिकल लाइन टर्मिनल (ओएलटी) तथा रसुवागढी, बेत्रावती र त्रिशूलीमा एक एक वटा गरी पाँच फाइबर क्याबिनेट (एफडीसी) तथा करिब १२८ किलोमिटर एरियल अप्टिकल फाइबर केबल बगाएको थियो।
बाढीका कारण ती क्षेत्रमा नेपाल टेलिकमका कुल एक हजार ५४४ वटा एफटीटीएच लाइन पूर्णरूपमा प्रभावित भएका थिए।
विपद्लगत्तै नेपाल टेलिकमले प्राविधिक जनशक्ति तथा आवश्यक स्रोतसाधन परिचालन गरी नेटवर्क मर्मत तथा पुनःस्थापनाको कामलाई तीव्रता दिएको थियो।
हालसम्म प्रभावितमध्ये एक हजार ९३ एफटीटीएच लाइन पुनःसञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। कम्पनीका प्रवक्ता कमल लामिछानेका अनुसार यससँगै पहिलो चरणको सेवा पुनःसञ्चालनकार्य सम्पन्न भएको छ।
बाँकी प्रभावित लाइन सम्बन्धित क्षेत्रको भौगोलिक तथा बस्तीको अवस्था, प्राविधिक सम्भाव्यता र ग्राहकको मागका आधारमा क्रमशः सञ्चालनमा ल्याइनेछ।
प्राकृतिक विपद्को विषम परिस्थितिमा सेवाग्राहीलाई यथाशीघ्र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको जनाएको छ।
प्रकाशित: २४ भाद्र २०८३ १८:०७ बुधबार



-600x400.jpg)