समाज

चैतमा झण्डै ६२ हजारले लिए श्रम स्वीकृति, मलेसिया पहिलो रोजाइ

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ।

वैदेशिक रोजगार विभागका अनुसार गत फागुनको तुलनामा चैत महिनामा श्रम स्वीकृति लिनेको सङ्ख्या झन्डै ९ हजारले बढेको हो।

फागुनमा ५२ हजार ९४४ जनाले श्रम स्वीकृति लिएकामा चैतमा ८ हजार ८७५ जना बढी अर्थात् कुल ६१ हजार ८१९ जनाले श्रम स्वीकृति लिएका हुन्।

विभागकाअनुसार चैतमा ५५ हजार ७१२ पुरुष र ६ हजार १०७ महिलाले श्रम स्वीकृति पाएका छन्। यस सङ्ख्यामा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या पनि जोडिएको छ।

नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या भने कुल सङ्ख्याको झन्डै एक तिहाइ अर्थात् २० हजार ५४५ छ। जसमा १७ हजार ६७० पुरुष र २ हजार ८७५ महिला रहेका छन्।

कुन जिल्लाका धेरै ?

श्रम स्वीकृति लिनेमा सबैभन्दा धेरै तराई क्षेत्रका छन्। विभागको तथ्याङ्क अनुसार धनुषाका मात्रै ३ हजार ८२९ जनाले चैत महिनामा श्रम स्वीकृति लिएका छन्। त्यहाँ ३ हजार ८११ पुरुष र १८ जना महिलाले श्रम स्वीकृति लिएका हुन्।

धनुषापछि सिरहाका २ हजार ६९८ जनाले श्रम स्वीकृति लिँदा २ हजार ६ सय ८३ पुरुष र १५ जना महिला छन्। यो अवधिमा महोत्तरीबाट २ हजार ६२२ जनाले श्रम स्वीकृति लिए। जसमा २ हजार ६०४ जना पुरुष हुँदा १८ जना महिला छन्।

झापामा २ हजार ५३३ जनाले श्रम स्वीकृति लिएका छन्। त्यहाँ २ हजार १३१ जना पुरुष र ४०२ महिलाले श्रम स्वीकृति लिएका हुन्। यस्तै मोरङमा १ हजार ९४६ पुरुष र २६६ महिला गरेर २ हजार २१२ जनाले श्रम स्वीकृति लिएका छन्।

कुन देशमा धेरै ?

देशका हिसाबले धेरै नेपाली श्रमिकको रोजाइमा मलेसिया परेको पाइएको छ। तथ्याङ्क अनुसार चैत महिनामा मात्रै ६१ हजार ८१९ जनाले श्रम स्वीकृति लिएकामा सबैभन्दा धेरै १८ हजार ६४९ जनाले मलेसियाको लिएका हुन्।

१७ हजार ९४७ पुरुषको रोजाइमा मलेसिया पर्दा ७०२ महिलाले पनि मलेसियालाई श्रम गन्तव्य बनाएका छन्।

यस्तै, संयुक्त अरब इमिरेट्स (युएई) का लागि ९ हजार ५१८ पुरुष र १ हजार ९४५ महिला गरी ११ हजार ४६३ जनाले श्रम स्वीकृति लिएका छन्।

कतारका लागि ८ हजार ९५९ जनाले श्रम स्वीकृति लिएका छन्। जसमा ८ हजार ५८२ पुरुष र ३७७ जना महिला रहेका विभागको तथ्याङ्क छ।

कतारपछि साउदी अरबका लागि ८ हजार ८६२ पुरुष र ५८ जना महिला गरी ८ हजार ९२० जनाले श्रम स्वीकृति लिएका छन्। यस्तै, रोमानियाका लागि ४ हजार ४३८ जनाले श्रम स्वीकृति लिँदा ३ हजार ८५३ जना पुरुष र ५८५ जना महिला छन्।

कस्ता जनशक्ति ?

पछिल्लो समय रोजगारीका लागि विदेश जाने नेपाली कुनै न कुनै सीप सिकेर गएको पाइन्छ। विभागकै तथ्याङ्कले पनि दक्ष जनशक्ति नै विदेश गएको देखाएको छ।

चैत महिनामा ३७ हजार ८५४ पुरुष र ४ हजार १६७ महिला गरी ४२ हजार २१ जना दक्ष जनशक्तिले श्रम स्वीकृति लिएका देखिन्छ।

तर १३ हजार ३६६ अदक्ष श्रमिकले पनि श्रम स्वीकृति लिएका पाइएको छ। ११ हजार ९४१ पुरुष र १ हजार ४२६ महिला गरी १३ हजार ३६६ अदक्ष श्रमिकले श्रम स्वीकृति लिएका हुन्।

यस्तै, उच्च दक्ष भएका ७० जना, व्यवसायिक २५३ जनाले श्रम स्वीकृति लिँदा ६ हजार १०९ जना अर्धदक्ष श्रमिकले श्रम स्वीकृति लिएका छन्।

प्रकाशित: ५ वैशाख २०८३ १५:५३ शनिबार