समाज

सुनसरीमा मोटरसाइकल दुर्घटना: चालकको मृत्यु, एक गम्भीर

सुनसरीको कोसी गाउँपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा बुधबार भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) चन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–२ का २८ वर्षीय अमरलाल साह रहेका छन्।

इनरुवाबाट कोसी ब्यारेजतर्फ जाँदै गरेको स १ च ९२१ नम्बरको स्कोर्पियोले विपरीत दिशाबाट आइरहेको मधेस प्रदेश ०६–००१ प ०९५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

ठक्करबाट मोटरसाइकल चालक अमरलाल र पछाडि सवार २६ वर्षीया पुष्पा साह गम्भीर घाइते भएका थिए। दुवैलाई तत्काल उद्धार गरी उपचारका लागि लगिएकोमा अमरलालको उपचारकै क्रममा मृत्यु भएको डिएसपी खड्काले जानकारी दिए।

गम्भीर घाइते पुष्पालाई थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न स्कोर्पियो र त्यसका चालक सप्तरीकै बोदेबर्साइन नगरपालिका–६ का २६ वर्षीय रञ्जित चौधरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: २७ फाल्गुन २०८२ २२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App