समाज

मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक बराल पक्राउ

पत्रकार शोभराज बराललाई प्रहरीले काठमाडौंको अनामनगरबाट पक्राउ गरेको छ। मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादकसमेत रहेका बराललाई सादा पोशाकमा खटिएका प्रहरीले नियन्त्रणमा लिएका हुन्।

अनामनगरस्थित भाटभटेनी नजिकै रहेको मोटिभेट न्युजको कार्यालयबाट बराललाई प्रहरीले नियन्त्रणमा लिएको हो। कार्यालयमा पुगेका प्रहरीले ‘केही कुरा गर्नुपर्ने छ’ भन्दै उनलाई आफूसँगै लगेका थिए। प्रहरीको उक्त टोलीले पक्राउ गर्दा बराललाई पक्राउ गर्नुको कारण भने खुलाएको थिएन।

उपत्यका प्रहरी कार्यालयका एक प्रहरी अधिकारीका अनुसार बराललाई हाल टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको छ।

यद्यपि, उनलाई के विषयमा र कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले औपचारिक जानकारी दिएको छैन।

बराल नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ निकट मानिन्छन्। उनको पक्राउसँगै घटनाबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।

प्रकाशित: १३ कार्तिक २०८३ १७:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App