जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने २११ सदस्यीय नेपाली टोलीलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बिदाइ गरेका छन्।
शिक्षा तथा खेलकुद मन्त्रालयमा आज आयोजित कार्यक्रममा उनले सफलताको शुभकामनासहित खेलाडी, प्रशिक्षक तथा पदाधिकारी टोलीलाई बिदाइ गरेका हुन्।
खेलाडीहरूको मनोबल बढाउँदै मन्त्री पोखरेलले व्यक्तिगत प्रदर्शनसँगै देशको प्रतिष्ठालाई केन्द्रमा राखेर प्रतिस्पर्धा गर्न आग्रह गरे।
‘प्रतियोगितामा सहभागी हुनु जित्नकै लागि हो, तर जिते पनि नजिते पनि राज्यका तर्फबाट खेलाडीको सम्मान घट्ने छैन,’ मन्त्री पोखरेलले भने, ‘अहिले जसरी बिदाइ गरिएको छ, भोलि जितेर आए पनि हारेर आए पनि राज्यले त्यति नै सम्मानका साथ स्वागत गर्नेछ।’
जापानमा आगामी असोज ३ देखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालबाट २१ खेलका १३५ खेलाडी सहभागी हुँदैछन्। जसमा ५७ महिला र ७८ पुरुष खेलाडी छन्। टोलीमा २९ प्रशिक्षक, १७ व्यवस्थापक तथा प्राविधिक, मेडिकल टिमका ६ सदस्य, ४ पत्रकार तथा विशिष्ट अतिथि, सेभ द मिसन, डेपुटी सेभ द मिसनसहित कुल २११ जना रहनेछन्।
यसपटक नेपालबाट सबैभन्दा बढी कबड्डीमा २४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै क्रिकेटमा १५, भलिबलमा १२, उसुमा १०, करातेमा आठ र बक्सिङमा सात खेलाडी सहभागी हुनेछन्। जुडो, एथलेटिक्स, टेबल टेनिस र कुस्तीमा समान ६–६ खेलाडी मैदानमा उत्रनेछन्। खेल तालिकाअनुसार नेपाली टोली जापान जाने क्रम सुरु भइसकेको छ।
खेलाडीको तयारीका लागि सरकारले वैदेशिक प्रशिक्षण तथा अन्तर्राष्ट्रिय एक्सपोजरको व्यवस्था गरेको जनाएको छ।
तीन वर्षदेखि विशेष प्रशिक्षणमा रहेका खेलाडीलाई पछिल्लो दुई महिनादेखि बन्द प्रशिक्षणमा राखिएको थियो। विदेशमा प्रशिक्षणरत खेलाडीहरू भने उतैबाट सीधै जापान पुग्नेछन्।
सन् १९५१ मा भारतको नयाँ दिल्लीबाट सुरु भएको पहिलो एसियाली खेलकुदमा ९ सदस्यीय एथलेटिक्स टोली पठाएको नेपालले सन् १९८६ को १०औँ संस्करण (सोल) मा ऐतिहासिक पहिलो पदक जितेको थियो।
त्यसयता नेपाल एसियाली खेलकुदमा कहिल्यै पदकविहीन भएर फर्किनु परेको छैन।
प्रकाशित: २५ भाद्र २०८३ २०:४३ बिहीबार