काठमाडौं महानगरपालिकाले बाढी प्रभावित क्षेत्र नुवाकोट पठाएका चारवटा शव वाहनमध्ये एउटा वाहन ५ वटा शव लिएर काठमाडौं फर्किएको छ।
नुवाकोटस्थित त्रिशूली सैनिक तालिम केन्द्रबाट ४ जना पुरुष र १ जना महिलाको शव लिएर वाहन काठमाडौंतर्फ प्रस्थान गरेको हो।
ल्याइएका ती शवहरूलाई थप प्रक्रिया, सनाखत तथा पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा बुझाइनेछ।
महानगरपालिकाले परिचालन गरेका प्रत्येक शव वाहनमा सहजीकरण तथा सुरक्षाका लागि एक/एक जना नगर प्रहरी खटाएको छ।
विपद्को यस विषम परिस्थितिमा शव व्यवस्थापनलाई सहज बनाउन महानगरपालिकाले सूर्यविनायक नगरपालिका, छत्रपाटी निःशुल्क चिकित्सालय, मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पताल र भक्तपुर क्यान्सर अस्पतालसँग समन्वय गरेर शव वाहनहरू परिचालन गरेको जनाएको छ।
प्रकाशित: १३ भाद्र २०८३ २२:१२ शनिबार



