समाज

‘श्रीमानको यातना’ले छोराछोरीसहित भेरीमा अस्ताइन् माया

हराएकाहरूको खोजीका लागि भेरी किनारमा जम्मा भएका आफन्तहरू र र्‍याफ्टिङमार्फत् खोजी गर्दै सशस्त्र प्रहरीको टोली। तस्बिर: नगेन्द्र उपाध्याय / नागरिक

गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीया माया कठायत श्रीमानको यातना सहन नसकेपछि घर छोडेर शुक्रबार राति माइती काका अम्मरदेव गिरीको घरमा छोराछोरीसहित पुगेकी थिइन्। कहिल्यै नआउने ‘छोरी’ राति साढे सात बजेतिर दैलोमा आएपछि अम्मरदेवले सन्चो–विसन्चोको कुरा गरेका थिए। मायाले नेपालगञ्जबाट उपचार गरेर फर्केको जवाफ दिन नपाउँदै ज्वाइँ भूपेन्द्र कठायतको फोन आयो।

‘तपाईंको भतिजी र भान्जा–भान्जी त्यहाँ आएका छन् भनेर सोध्नुभयो, मैले यतै छन् भनेँ,’ अम्मरदेवले सुनाए, ‘म लिन आउँदैछु, बाटोसम्म आउन भनिदिनुहोला।’ भान्सामा खाना पाक्दै थियो। भतिजी र भान्जा–भान्जीले खाना खाएपछि उनले बाटोसम्म पुर्‍याइदिए। राति साढे नौ बजेतिर भूपेन्द्र आइपुगे। श्रीमती र छोरा–छोरीको खोजी गरे। अम्मरदेवले आफूले बाटोसम्म पुर्‍याएको सुनाए।

‘एकछिन जंगलतिर र बारीतिर खोज्यौं, १० बजेतिर जंगलमा लुकेका रहेछन्,’ अम्मरदेवले भने, ‘मैले किन लुकेको भनेर सोधें, भतिजीले श्रीमानले कुटपिट गर्ने र मार्ने धम्की दिने गरेको सुनाइन्।’ भतिजीले कुरा गर्दागर्दै भूपेन्द्रले त्यहीँ कुटपिट गर्न थाले।

‘माइतीघरमै आएर यसरी कुटपिट गर्नुहुन्छ भने घर लगेर के गर्नुहोला?,’ अम्मरदेवले ज्वाइँलाई सम्झाउँदै भने, ‘अहिले चेलीलाई पठाउँदिनँ, भोलि बिहान आउनुहोला, छलफल गरेर मात्रै पठाउँछु।’

भूपेन्द्र भोलिपल्ट बिहान आएनन्। शनिबार दिउँसो छोरी ११ वर्षीया आशा घर गएकी थिइन्। राति खाना खाएर सुतेपछि भूपेन्द्र छोरीसहित आइपुगे। परिवारका सदस्यसहित एउटै कोठामा छलफल सुरु भयो। मायाले आफ्नो श्रीमान परस्त्रीसँग सम्बन्धमा रहेको, आफूलाई मदिरा सेवन गरेर दैनिक कुटपिट गर्ने गरेको, खुकुरी देखाउँदै मार्ने धम्की दिने गरेको सुनाइन्।

भूपेन्द्रले पनि मायासँग आफ्नो घरबार नचल्ने बताउन थाले। शनिबार राति १२ बजेसम्म छलफल चल्यो। अन्त्यमा भूपेन्द्रले अबदेखि कुटपिट नगर्ने प्रतिबद्धता जनाएपछि उनी आफ्नो घर फर्किए।

‘आइतबार बिहानै छोरीले अब ज्वाइँले मारपिट गर्दिनँ भन्नुभएको छ, राम्रो कुरा गर्नुभएको छ भनेपछि भान्जी आशा र पाँच वर्षका भान्जा दिपकसहित चेलीलाई विदाइ गरेको थिएँ,’ उनले भने, ‘बेलुकातिर भेरीमा कपडा र मोबाइल फेला परेको जानकारी पाएँ।’

छोराछोरीसहित भेरीमा बेपत्ता भएको खबर पाएपछि आइतबारदेखि भेरी नदीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले निरन्तर खोजी गरिरहेका छन्। मंगलबारसम्म माया र छोरी आशाको शव फेला परेको छ भने पाँच वर्षका दिपकको खोजी भइरहेको छ।

इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रकाश केसीले प्रारम्भिक अनुसन्धानका क्रममा पारिवारिक कलहका कारण घटना भएको देखिएको बताए। ‘श्रीमान–श्रीमतीबीचको झगडाका कारण आमा छोराछोरीसहित भेरीमा हाम फालेको देखिन्छ,’ प्रहरी निरीक्षक केसीले भने, ‘अहिले हराएकाहरूको खोजी कार्य भइरहेको छ। आमा र छोरीको शव फेला परेको छ, छोराको खोजी जारी छ।’

मृतक मायाका दाजु प्रेमराज गिरीले दशैंयताबाट बहिनीमाथि निरन्तर कुटपिट हुँदै आएको बताए। ‘पहिले उहाँ (भूपेन्द्र) भारतमा कमाउन जान्थे, वर्षमा एक–दुई पटक आउँथे। बहिनीसँगको सम्बन्ध पनि राम्रै थियो,’ उनले भने, ‘दशैंयता नियमित मानसिक र शारीरिक यातना दिन थालेपछि अहिलेको अवस्था देख्नुपर्‍यो।’

प्रेमराजका अनुसार आइतबारदेखि भान्जी आशाको कक्षा पाँचको अन्तिम परीक्षा थियो। परीक्षा दिन नआएपछि विद्यालयले नै भूपेन्द्रलाई फोन गरेको थियो।

स्कुलबाट फोन आएपछि भूपेन्द्रले अम्मरदेवलाई फोन गरेर ‘तपाईंकी छोरी कहाँ छिन्?’ भनेर सोधेका थिए। ‘मैले बिहानै घरबाट गइसकेको भनेँ,’ उनले भने, ‘त्यसपछि खोजी सुरु भयो। खोज्दै जाँदा भेरी नदी किनारमा कपडा, मोबाइल र केही रुपैयाँ भेटायौं।’

माइती पक्षले श्रीमानको यातनाकै कारण बहिनी र भान्जा–भान्जी गुमाउनुपरेको भन्दै निस्पक्ष अनुसन्धान गरेर संलग्नलाई कानुनअनुसार कारबाही गर्नुपर्ने माग गरेका छन्।

‘माइतीमै आएर मेरै अगाडि छोरीलाई कुटपिट गर्नेले घरमा कति यातना दिन्थ्यो होला?,’ अम्मरदेवले भने, ‘घरमा फर्केपछि फेरि यातना पाइने डरले छोरीले नाति–नातिनीसहित भेरीमा हाम फालेको देखिन्छ।’

प्रकाशित: ३ चैत्र २०८२ १९:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App