समाज

महावीर पुनमाथि अभद्र व्यवहार गर्ने व्यक्ति पोखराबाट पक्राउ

म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महाविर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१३ बाँझापाटन बस्ने ४३ वर्षीय विकास गुरुङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार प्रहरी टोलीले पोखराको वडा नम्बर ९ महेन्द्रपुल क्षेत्रबाट गुरुङलाई पक्राउ गरेको हो। पक्राउ परेका गुरुङमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गुरुङ यसअघि लागूऔषधसम्बन्धी मुद्दामा तीन पटक सजाय भुक्तान गरिसकेको पाइएको छ।

घटना पृथ्वीचोकस्थित क्षेत्रमा भएको हो। त्यहाँ महावीर पुनसहितको टोलीले पुस्तक बिक्री गरिरहेको बेला गुरुङले अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

यो भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको थियो।

प्रकाशित: २८ फाल्गुन २०८२ १९:१६ बिहीबार