समाज

कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी सञ्चालनमा

भोटेकोशी नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीर क्षेत्रमा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार सम्बन्धित निकायहरूको निरन्तर प्रयासमा कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण गरिएको छ। नयाँ ट्र्याक निर्माण सम्पन्न भएसँगै आज (बिहीबार) बिहान ६ बजेदेखि पृथ्वी राजमार्ग पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आएको हो।

भदौ १० र १४ गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढीका कारण कृष्णभीर क्षेत्रमा सडक भासिएपछि पृथ्वी राजमार्गको आवागमन अवरुद्ध भएको थियो।

सडक सञ्चालनमा ल्याउन सहयोग गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सम्बन्धित सडक आयोजना तथा कार्यालय, निर्माण व्यवसायी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सवारी चालक, यात्रु तथा अन्य सरोकारवालालाई जिल्ला प्रशासन कार्यालय धादिङले धन्यवाद तथा आभार व्यक्त गरेको छ।

यद्यपि, पृथ्वी राजमार्गका विभिन्न स्थानमा अझै सडक भासिने, पहिरो जाने तथा ढुंगा–माटो खस्ने जोखिम कायम रहेकाले सवारी चालक तथा यात्रुलाई विशेष सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।

विशेषगरी वर्षा भइरहेको समयमा वा सडकमा पहिरो, ढुंगा तथा अन्य अवरोध देखिएमा जोखिम मोलेर यात्रा नगर्न, सुरक्षाकर्मी तथा सडक व्यवस्थापनमा खटिएका कर्मचारीको निर्देशन पालना गर्न र सडकको अवस्था हेरेर मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ।

यातायात सञ्चालन तथा सडकको अवस्थाबारे थप जानकारीका लागि सम्बन्धित निकाय र सुरक्षा निकायबाट जारी हुने सूचनालाई आधार मान्नसमेत प्रशासनले अनुरोध गरेको छ।

प्रकाशित: १ आश्विन २०८३ ०६:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App